ग्वार्डिओला र क्लप जस्तो सफल हुन मलाई समय चाहिन्छ : चेल्सी प्रशिक्षक टुचेल
काठमाडौँ: चेल्सीका प्रशिक्षक थोमस टुचेलले आफ्नो क्लब म्यानचेस्टर सिटी र लिभरपुलको स्तरसम्म पुग्न सक्षम रहेको बताएका छन् । पछिल्ला चार वर्षमा सिटी र लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अन्य टिमको भन्दा फरक स्तर देखाएको भन्दै टुचेलले आफूले चेल्सीलाई पनि उस्तै सफलता दिलाउन सक्ने बताए । तर त्यसका लागि आफूलाई चेल्सीले समय दिनुपर्ने जर्मन प्रशिक्षकको सर्त थियो ।
फ्रान्क लाम्पार्डलाई प्रतिस्थापन गरेका टुचेलले अर्को सिजन पनि उपाधि जित्न कठिन हुने बताए । यस सिजन पनि चेल्सी लिग उपाधि दौडमा छैन । गत सिजन लिभरपुलले लिग जित्दा ३३ अंकले पछाडि रहेको चेल्सी यस सिजन लिग लिडर सिटी भन्दा २१ अंकले पछि रहेको छ । त्यस अघिका दुई सिजन पनि चेल्सी लिग विजेता भन्दा क्रमशः २६ र ३० अंकले पछाडि थियो ।
‘सिटी र लिभरपुलसँग विगतका सिजनमा चेल्सीको अंक दुरी धेरै थियो । अहिले पनि सिटी भन्दा हामी तल छौँ । तर हाम्रो लक्ष्य भनेको सिटी र लिभरपुललाई भेट्टाउने हो । यस सिजन नभए पनि अर्को सिजन,’ टुचेलले भने, ‘यस पटकको लागि हाम्रो लक्ष्य शीर्ष चारभित्र रहने हो । अर्को सिजन देखि हामी उपाधिका लागि भिड्ने छौँ ।’
चेल्सीमा धेरै प्रशिक्षक बर्खास्तमा पर्ने विषयमा भने टुचेललको जवाफ थियो,‘सिटीले पेप ग्वार्डिओलाई र लिभरपुलले योर्गेन क्लपलाई पर्याप्त समय दिएका कारण उनीहरुले सफलता हासिल गरे । मैले चेल्सीमा पर्याप्त समय पाउनका लागि सुरुवाती सफलता हासिल गर्नुपर्छ भन्ने थाहा छ । मैले प्रत्येक दिन चेल्सीमा प्रभाव पार्नुपर्छ । त्यसका लागि म तयार छु ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया