खेलकुद

एलपीएल : लिटल फ्लावर र स्टेपिङ स्टोनको पहिलो जित

इकागज |
फागुन २०, २०७७ बिहिवार १७:५२ बजे

धनगढी : लिटल फ्लावर स्कुल र स्टेपिङ स्टोनले चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा पहिलो जित निकालेका छन् । बिहीबार भएको पहिलो खेलमा शारदा स्कुललाई ९ विकेटले पराजित गर्दै लिटलले पहिलो जित निकालेको हो । 

संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा शारदाले दिएको ९४ रनको लक्ष्य लिटलले ९ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो । लिटलको जितमा सुवास ऐरले विस्फोटक ब्याटिङ गर्दै १६ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले । प्लेयर अफ दि म्याच बनेका सुवास यस प्रतियोगिताकै सर्वाधिक चाँडो अर्धशतक बनाउने खेलाडी बने । 


उनले ६ छक्का र तीन चौका प्रहार गरे । यस्तै नरेन भट्टले अविजित ३१ रन जोड्दा अनुराग सिंहले अविजित ६ रन बनाए । शारदाका लक्की कडायतले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ७ विकेट गुमाएर ९३ रन बनाएको थियो । उसका सचिन साउदले अविजित ३१ रन जोडे । युवराज थापाले १४ रन बनाए । लिटलका मनोज चनारा, सुवाश ऐर र सचिन भट्टले २/२ विकेट लिए ।

आजै भएको दोस्रो खेलमा धनगढी नमुनालाई ९ विकेटले पराजित गर्दै स्टेपिङ स्टोनले पहिलो जित दर्ता गरेको छ । पहिले ब्याटिङ गरेको धनगढी नमुनाले ११ ओभरमा अलआउट हुँदै ४८ रन बनाएको थियो । उसका लागि आयुस खड्काले सर्वाधिक १९ रन बनाए ।

 धनगढीलाई सस्तैमा समेट्न स्टेपीङका भुपेश जोशीले १० रन खर्चिएर ६ विकेट लिए । सुभम जैशीले २ विकेट लिए । धनगढीले दिएको ४९ रनको लक्ष्य स्टेपिङले ५ ओभर ३ बलमा १ विकेट गुमाएर भेट्टायो । स्टेपीङका अविशेक कुँवरले अविजित ३२ रन जोडे । धनगढीका अनुप कुँवरले १ विकेट लिए । खेलका म्यान अफ द म्याच स्टेपीङका भुपेश जोशी भए । 

लगातार दोस्रो हारसंगै धनगढी नमुना प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउने छन् । त्यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् । 


Author

थप समाचार
x