खेलकुद

स्पेनी ला लिगाः उपाधि होड खुल्ला बनाउन सक्ने यसपटकको म्याड्रिड डर्बी

इकागज |
फागुन २१, २०७७ शुक्रबार १४:४० बजे

काठमाडौँ: स्पेनी ला लिगामा यस सिजन उपाधि दौडमा रियल म्याड्रिड र बार्सिलोनालाई  एथलेटिको म्याड्रिडले पछाडि पारेको छ । एथलेटिकोले २४ खेलबाट ५८ अंक बनाउँदै लिगमा पहिलो स्थानमा ओगटेको छ भने रियल र बार्सिलोना एक खेल बढी खेलेर समान ५३ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 

लिग निर्णायक मोडमा पुग्दा एथलेटिको र रियल आइतबार आमनेसामने हुँदैछन् । वान्डा मेट्रोपोलिटानोमा हुने खेलको नतिजाले ला लिगाको उपाधि दौड रोचक मोडमा पुग्नेछ ।


फ्रेब्रुअरीको अन्तिम साता दुई खेलमा हार ब्यहोरेको एथलेटिकोले गत साता भिल्लायारियमाथि संर्घषपूर्ण जित हासिल गर्‍यो । लिगमा लेभान्टे र च्याम्पियन्स लिगमा चेल्सीसँग पराजित भएको एथलेटिकाको रक्षापंक्ति र अग्रपंक्ति एक्कासी कमजोर देखिएको थियो । ती दुई खेलमा तीन गोल खाएको एथलेटिकोले एक गोल पनि फर्काउन सकेन । तर गत साता भिल्लारियालमाथि संर्घषपूर्ण जित दर्ता गर्दा एथलेटिकोमा केही हदसम्म आत्मविश्वास फर्केको हुनसक्छ ।

त्यही साता रियलले भने रियल सोसिडाडसँग हार ब्यहोर्यो । जसले गर्दा रियलले म्याड्रिड डर्बीको अगाडि अकं दुरी घटाउने मौका गुम्यो । जारी लिगको पहिलो भेटमा विजय बनेको रियल फेरि उस्तै नतिजा निकाल्न चाहान्छ ।

तर लिगमा सबैभन्दा कम गोल खाएको एथलेटिको सहरी प्रतिद्वन्द्वीसँग आमनेसामने हुँदा कमजोर नदेखिने प्रयासमा हुनेछ । पछिल्लो पटक सन् २०१४ मा लिग जितेको एथलेटिको फेरि एकपटक आफूलाई स्पेनको सबैभन्दा बलियो टिम भएको प्रमाणित गर्ने धेयमा छ । 

‘हामी किन लिगको पहिलो स्थानमा छौँ भन्ने प्रश्नको उत्तर रियललाई हराउँदै दिन चाहान्छौँ,’ एथलेटिकोका स्ट्राइकर लुइस स्वारेजले यसै साता ला लिगा टिभीसँगको कुराकनीमा भनेका थिए । स्वारेजले एथलेटिकोका लागि १६ लिग गोल गरिसकेका छन् । तर पछिल्ला चार खेलमा भने उनको प्रहार गरेको बलले जाली चुमेको छैन ।

स्वारेजको हालको लयले निराश बनाए पनि केइरन ट्रिपियरले टिममा पुनरागमन गर्ने खबरले प्रशिक्षक डिएगो सिमओने खुशी भएको हुनुपर्छ । प्रतिबन्धका कारण लिगका पछिल्ला आठ खेल गुमाएका ट्रिपियर रियलविरुद्वको खेलमा पहिलो एघारमै पर्ने अनुमान गरिएको छ । उनको उस्थितीमा एथलेटिकोको ‘राइट विङ्गस’ बलियो बन्ने अपेक्षा गरिएको छ । 

उता रियलको अग्रपंक्ति पनि यस सिजन चल्न सकेको छैन । त्यसमाथि करिम बेन्जेमाले चोट बोकेपछि रियल समस्यामा परेको छ । बेन्जेमाको ब्याकअपका रुपमा लिइएका मारियानो डियाज पनि घाइते छन् भने अर्का स्ट्राइकर लुका जोभिच फ्रान्कफर्ट फर्किसकेका छन् । त्यसकारण सिमओनेको टिमविरुद्व जिनेदिन जिदानले इस्को, भिनसियस जुनियर, रोड्रिगो वा मार्को एसेनसियो मध्येबा एकलाई स्ट्राइकरका रुपमा उपयोग गरिनेछ । 

म्याड्रिड डर्बीको नतिजा जे जस्तो आएपनि बार्सिलोनालाई फाइदा पुग्नेछ । शनिबार ओसासुनाको सामना गर्ने बार्सिलोनाले म्याड्रिड डर्बीमा रियल हारे दोस्रो स्थानमाथि कब्जा जमाउनेछ । त्यस्तै, जिदानको टिमले त्यस खेल जिते लिग उपाधि दौड खुल्ला हुनेछ, जसले बार्सिलोनालाई शीर्षस्थान पुग्न हौसला दिनेछ ।

त्यसो त, आउँदो मे मा बार्सिलोनाले एथलेटिकोको सामना गर्नेछ । म्याड्रिड क्लबमाथिको जितले ला लिगाको उपाधि दौड थप खुल्ला हुनेछ । कोपा डेल रेको फाइनल पुगिसकेको बार्सिलोनाको ला लिगा जित्ने सपना अझै मरिसकेको छैन । 

लिग वा कपमा सफल भए रोनाल्ड कुमनको बार्सिलोना बसाई लम्बिने सम्भावना बलियो हुनेछ । बार्सिलोनाको अध्यक्षको निर्वाचन आउँदो आइतबार हुँदैछ । निर्वाचन नतिजाले पनि कुमनको भविष्यको निक्र्यौल गर्नेछ । यसै विषयमा कुमनले जो अध्यक्ष बनेर आए पनि आफू कुरा गर्न तयार रहेको बताए । ‘बार्सिलोनासँगको मेरो सम्झौता सकिएको छैन । त्यसकारण जो सुकै नयाँ अध्यक्ष बनेर आए पनि मैले छलफल गर्नैपर्छ । र, म त्यसका लागि तयार छु,’ कुमनले भने । 


 


Author

थप समाचार
x