खेलकुद

चेल्सी फर्कन चाहन्छन् ब्राजिलियन मिडफिल्डर ओस्कर

इकागज |
फागुन २२, २०७७ शनिबार १५:३८ बजे

काठमाडौँ: ब्राजिलियन मिडफिल्डर ओस्करले आफू पूर्वक्लब चेल्सी फर्कन इच्छुक रहेको बताएका छन् । चार वर्षअघि चिनियाँ सुपर लिग खेल्न सांघाई एसआइपीजी पुगेका ओस्करले करियरको समापन चेल्सीबाट गर्न चाहेको उल्लेख गरेका हुन् । 

चीन जानुअघि ओस्करले चेल्सीको जर्सीमा दुई सय तीन खेल खेल्दै दुई प्रिमियर लिग र एक युरोपा लिग उपाधि जितेका थिए । सन् २०२४ को नोभेम्बर सम्मका लागि सांघाई एसआइपीजीसँग आबद्व रहेका ओस्करले बेलायती रेडियो स्टेशन टक स्पोटर्ससँग कुराकानी गर्दै चेल्सी फर्कनु आफ्नो सपना रहेको बताएका हुन् ।


‘चेल्सीमा मैले महत्वपूर्ण उपाधिहरू जिते । चेल्सीले मलाई प्रिमियर लिग र च्यामिपयन्स लिग जस्ता उच्च स्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्ने मौका दियो । त्यहाँ अझै मेरा धेरै साथी छन् । यदी मैले मौका पाए भने म चेल्सी फर्कन तयार छु । त्यस क्लबबाट करियर अन्त्य गर्नु मेरो सपना हो,’ २९ वर्षीय ओस्करले भने । 

चेल्सी पाका भन्दा युवा खेलाडी अनुबन्ध गर्न चाहने क्लब रहेको स्विकार गर्दै ओस्करले स्टामफोर्ड ब्रिज फर्कन जेसुकै गर्न पनि तयार रहेको बताए ।  

चार वर्षको चीन बसाईमा ओस्कारले साघांइ एसआइपीजीका लागि एक सय ४५ खेल खेल्दै ४५ गोल गरेका छन् भने ७७ असिस्टको योगदान गरेका छन् । उनले त्यसक्रममा एक-एक पटक चिनियाँ लिग र घरेलु कप जितेका छन् ।  

ओस्कर केही वर्ष चेल्सीका लागि महत्वपूर्ण खेलाडी रहेका थिए । गोल गर्न र गोलका लागि पास मिलाउन सिपालु रहेका ओस्करले चेल्सीका लागि ३८ गोल र ३७ असिस्टको योगदान गरेका थिए । इडेन हाजार्ड र विलियान जस्ता खेलाडीसँग खेल्दा खेल्दै ओस्कार चीन हानिएका थिए । त्यसो त, हाजार्ड र विलियान पनि हाल चेल्सीमा छैनन् । 


Author

थप समाचार
x