खेलकुद

लिटल फ्लावर प्रिमियर लिग : बाल बाटिका सेमीफाइनलमा, होलिल्याण्डको दोस्रो जित

इकागज |
फागुन २२, २०७७ शनिबार १७:४८ बजे

धनगढी : कैलालीको बौनियाको बाल बाटिका स्कुल धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो खेलमा गुरुकुल एकेडेमी लम्कीलाई २५ रनले पराजित गर्दै बाल बाटिका अन्तिम चारमा प्रवेश गरेको हो । 

टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । उसका लागि विराटसिंह भण्डारीले ५५ र दिपेश सिंहले २३ रन बनाए । बलिङतर्फ गुरुकुल एकेडेमी लम्कीका सुनिल भण्डारीले ३ र संगम विष्टले २ विकेट लिए । 


यसअघि आजै भएको पहिलो खेलमा होलिल्याण्ड स्कुलले लगातार दोस्रो जित निकालेको छ । संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा शनिबार भएको खेलमा धनगढी नमुनालाई ६ विकेटले पराजित गर्दै होलिल्याण्डले लगातार दोस्रो जित निकालेको हो । 

पहिले ब्याटिङ गरेको धनगढी नमुनाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो । उसका अनुप कुँवरले ६५ र आयुस खड्काले अविजित रहदै ६४ रन बनाए । होलिल्याण्डका अविशेक कोइरालाले ३ र राजेश महराले २ विकेट लिए । 

धनगढीले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होलिल्याण्डले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । होलिल्याण्डको जितमा मनोज ओझाले ६६ र राहुल भण्डारीले ४७ रन बनाए । 

धनगढी नमुनाका सबिन महरा, पारस कार्की, बसन्तसिंह कार्की र आयुस खड्काले १/१ विकेट लिए । होलिल्याण्डका मनोज प्लेयर अफ द म्याच चुनिए । जारी प्रतियोगितामा धनगढी नमुनाको यो लगातार तेस्रो हार हो । यस हारसंगै धनगढी प्रतियोगिताबाट बाहिरिएको छ । 

प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेताले १ लाख २० हजार पाउने छन् । यस्तै उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन् । 
 


Author

थप समाचार
x