खेलकुद

जो बार्सिलोना छोड्दा रोएका थिए

इकागज |
असोज २६, २०७७ सोमबार १३:३२ बजे

लुइस स्वारेज लिभरपुलबाट बार्सिलोना आउँदा २७ वर्षका थिए । करिब ६ वर्ष क्याटलन क्लबमा रहँदा दुई सय ८३ खेल खेलेका उनले एक सय ९८ गोल गरेका थिए । साथै एक सय नौ एसिस्ट पनि । स्वारेजले बार्सिलोनालाई चार ला लिगा, चार घरेलु कप र एक च्याम्पियन्स लिग जिताउन सहयोग गरे ।

यसै सिजनको सुरुवातमा ३३ वर्षका उनले एथलेटीको म्याड्रिडबाट खेल्ने निधो गरे । तर बार्सिलोनाबाट एथलेटीतर्फको स्थान्तरण प्रक्रिया उनलाई सजिलो भने भएन । स्वारेजले यतिबेला आफ्नो बार्सिलोना बर्हिगमनका बारेमा मुख खोलेका छन् । उनले बार्सिलोनामा रहँदाका अन्तिम दिनहरु सुखद नरहेको बताए । क्लब प्रशिक्षण टोलीले आफुलाई अभ्यासमा समेत भाग लिन नदिएको उनले दाबी गरिरहेका छन् ।


बार्सिलोनासँगको करार अनुसार स्वारेज अझै एक वर्ष क्लबमा रहन सक्थे । ‘बार्सिलोनामा मेरा अन्तिम दिनहरु एकदमै दुखद थिए । म रुएँ पनि,’ विश्वकप छनौटमा उरुग्वेलाई चिलीविरुद्धमा जित हासिल गर्न मद्दत गरेपछि स्वारेजले भने, ‘हो कुनै पनि खेलाडीको क्लबमा रहने समय समाप्त हुन्छ । तर बार्सिलोनाले मेरो अवस्थालाई सही तरिकाले डिल गरेन । मलाई बार्सिलोनाको मुख्य टिमसँग अभ्यास गर्न दिएनन् । त्यत्तिका वर्षसँगै खेलेका साथीहरुसँग अभ्यास गर्न नपाउनु मेरा लागि दुखद थियो । त्यस्तो अवस्थामा एउटा खेलाडी खुसी रहन सक्दैन । त्यसकारण एथलेटिकोको प्रस्ताब मेरा लागि महत्वपुर्ण थियो,' स्वारेजले थपे ।

स्वारेजले आफ्नो नयाँ क्लबका लागि प्रभावशाली सुरुवात गरे । पहिलो खेलमै ग्रानाडाविरुद्ध उनले दुई गोल गरे । स्वारेजको डेब्यु खेलपछि मेस्सीले इन्स्टाग्राममा लेखे ‘क्लबको इतिहासमै तिमी महत्वपुर्ण खेलाडीका रुपमा रह्यौ । तर पनि तिम्रो बिदाइ सुखद रहेन । तिमीलाई क्लबले जसरी फ्याक्यो त्यो तरिका उचित थिएन ।’ मेस्सीले गरेको सर्मथनप्रति आफु अचम्मित नभएको स्वारेजले बताए । ‘मेस्सीसँग म नजिक छु । मैले भागेको पीडाले मेस्सीलाई पनि दुखित तुल्यायो' स्वारेजले भने 'मप्रति बार्सिलोनाले जुन किसिमको व्यवहार गर्‍यो त्यसले म र मेरो परिवारलाई एकदमै ठूलो पीडा दियो । र त्यो कुरा मेस्सीले राम्रोसँग बुझेका छन् ।’(दि गार्डियन)


Author

थप समाचार
x