खेलकुद

डेर क्लासिकरमा बार्यन बलियो साबित, लेवानडोस्कीको ध्यान मुलरको कीर्तिमानतर्फ

इकागज |
फागुन २३, २०७७ आइतबार १२:५५ बजे

काठमाडौँ : डेर क्लासिकरमा शनिबार बोरुसिया डर्टमन्डलाई पराजित गरेपछि बार्यन म्युनिख बुन्डेसलिगाकाे उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । पछिल्ला आठ सिजन लगातार च्याम्पियन बनेको बार्यनले शनिबार डर्टमन्डलाई ४-२ ले पराजित गर्‍यो । 

आलियान्ज ऐरेनामा भएको खेलमा बार्यनका लागि रोर्बट लेवानडोस्कीले ह्याट्रिक गरे भने लियोन गारेज्काले एक गोल थपे । उता डर्टमन्डका लागि एर्लिङ हालान्डले दुई गोल गरे । खेलमा डर्टमन्डले सुरुवाती १० मिनेटभित्र दुई गोल गरेको थियो । तर डर्टमन्डले अग्रता जोगाउन सकेन ।


जितसँगै बार्यनले २४ खेलबाट ५५ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आरबी लाइपजिग दुई अंकले पछाडि रहेको छ । पराजित डर्टमन्ड भने ३९ अंकका साथ छैठौँ स्थानमा छ । बार्यन लिग उपाधि धेयका साथ अघि बढिरहँदा डर्टमन्ड भने छ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगमा छनौट नहुने सम्भावना बढेको छ । 

डर्टमन्डविरुद्व तीन गोल गरेसँगै लेवानडोस्कीको लिगमा कुल गोल संख्या ३१ पुगेको छ । पछिल्ला सात सिजन मध्ये पाँचमा उच्च गोलकर्ता बनेका लेवानडोस्कीलाई यसपटक कसैले भेट्टाउने अवस्था छैन । लिगमा हालान्ड र फ्रान्कफर्टका आन्द्रे सिल्भाले समान १९ गोल गरेका छन् ।

लिगको उच्च गोलकर्ता बन्‍ने होडमा रहेका लेवानडोस्की एकै सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्‍ने लक्ष्यमा पनि छन् । यस्तो कीर्तिमान गेर्ड मुलरको नाममा छन् । उनले बुन्डेसलिगामा एकै सिजनमा ४० गोल गरेका थिए ।


Author

थप समाचार
x