खेलकुद

युरोपियन क्लबले खेलाडी रिलिज गर्न इन्कार गर्दा दक्षिण अमेरिकामा विश्वकप छनौट स्थगित

इकागज |
फागुन २३, २०७७ आइतवार १३:४८ बजे

काठमाडौँ: दक्षिण अमेरिकी फुटबल संघ (कोनमेबोल) ले विश्वकप छनौटका खेलहरू स्थगित गरेको छ । मार्च २५ देखि ३० सम्म हुने भनिएका दुई चरणका छनौट खेलहरू स्थगित गरिएको हो । 

युरोपका धेरै क्लबले आफूसँग रहेका दक्षिण अमेरिकी खेलाडीहरूलाई रिलिज नगर्ने बताएपछि सन् २०२२ विश्वकपका लागि हुने छनौट खेलहरू अर्को मितिका लागि सारिएको हो । कोभिड–१९ का कारण लगाइएको क्वारन्टिन नियमले खेलाडीहरुको आवत जावतमा समस्या हुने म्यानचेस्टर सिटी, लिभरपुलल लगायतका क्लबले गुनासो गर्दै आएका थिए । 


ब्राजिल,अर्जेन्टिना लगायतका मुलुकबाट बेलायत प्रवेश गर्ने सबैलाई १० दिन क्वारन्टिनमा राखिने गरिएको छ । यस्तो नियमले खेलाडीहरूलाई असर गर्ने भएकाले लिभरपुल र म्यानचेस्टर सिटीले खेलाडी रिलिज नगर्ने अडान लिएका थिए । उता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि खेलाडी रिलिज गर्न ग्राहो हुने बताउँदै आएको थियो । कोभिड–१९ को कारण देखाउँदै फिफाले क्लबहरूलाई खेलाडी रिलिज गर्ने वा नगर्ने सम्बन्धि आफै निर्णय गर्न छुट दिएको छ । 

पूर्व तालिका अनुसार ब्राजिलले मार्च २६ मा कोलम्बिया र ३० मा अर्जेन्टिनाको सामना गर्दै थियो । तर ब्राजिल र कोलम्बियाबीच हवाई सेवा बन्द रहेको छ । दक्षिण अमेरिकामा कोभिड–१९ संक्रमण नियन्त्रणमा अझै आएको छैन ।  उता युरोपमा भने छनौट खेलहरू यसअघि नै अर्को मितिका लागि सारिएको थियो । कतिपय टिमले खेलस्थान नै परिवर्तन गरेका छन् । 


Author

थप समाचार
x