खेलकुद

आइपीएल अप्रिल नौ बाट

इकागज |
फागुन २३, २०७७ आइतबार १८:२७ बजे

काठमाडौँ: इन्डियन प्रिमियर लिग (आइपीएल) को आउँदो संस्करण अप्रिल नौ देखि मे ३० सम्म हुने भएको छ । आइपीएलका सम्पूर्ण खेल भारतका छ मुख्य सहरमा हुने बताइएको छ । 

आयोजकका अनुसार मुम्बई, अहमदाबाद, बेगंलुरु, चेन्‍नाई, दिल्ली र कोलकाताका रंगशालाहरूमा आइपीएल सञ्चालन हुनेछ । प्ले-अफ तथा फाइनल अहमदाबादको नरेन्द्र मोदी रंगशाला हुने भारतीय समाचार एजेन्सी पीटीआईले लेखेको छ । 


कोभिड-१९ का कारण भारतभर लगाइएको लकडाउनका कारण आइपीएलको पछिल्लो संस्करण संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलाइएका थियो । जहाँ दर्शकलाई आउन दिइएको थिएन ।

सन् २०२१ को आइपीएल भारत फर्के पनि सुरुवाती खेलहरूमा भने दर्शकबिना नै खेलिने पीटीआईको रिपोर्टमा उल्लेख छ । आइपीएलको उद्घाटन खेल चेन्‍नाईमा खेलिनेछ । जहाँ डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेगंलोरको सामना गर्नेछ ।

भारतीय क्रिकेट संघ (बीसीसीआई) ले आइतबार सार्वजनिक गरेको तालिका अनुसार सुरुवाती चार सातामा ३३ खेल हुनेछन् । ती मध्ये कुनै पनि खेल कोलकातामा हुनेछैन । पश्चिम बंगाल निर्वाचनमा ब्यस्त हुने भएकाले त्यस अवधिका लागि कुनै पनि खेल कोलकातामा हुने छैन । 

तालिका अनुसार प्रत्येक टिमले लिग चरणका खेलहरू चार सहरमा खेल्नेछन् । जसमा चेन्नाई, मुम्बई, कोलकाता र बेगंलुरुले १०-१० खेल आयोजना गर्नेछन् भने अहमदाबाद र दिल्लीको भागमा आठ-आठ खेल छन् । 

कुनैपनि टिमले ‘होम म्याच’ खेल्न नपाउने आउँदो आइपीएलमा प्रत्येक दिन दिउसोको खेल ३ः३० र साँझको ७ः३० (भारतीय समय अनुसार) हुनेछन् । 
 
 


Author

थप समाचार
x