खेलकुद

काठमाडौँ मेयर कप क्रिकेट : काठमाडौँ मेयर्स ११ र एपिएफ विजयी

इकागज |
फागुन २४, २०७७ सोमबार ६:३६ बजे

काठमाडौँ : काठमाडौँ मेयर कपमा काठमाडौँ मेयर्स ११ र सशस्त्र प्रहरी बलको एपिएफ क्लब आ-आफ्नो खेलमा विजयी भएका छन् । काठमाडौँ मेयर्सले बागमती प्रदेशलाई ९४ रनले तथा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको हो । 

मूलपानी खेल मैदानमा भएको खेलमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेपछि काठमाडौँ मेयर्सले बागमती प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको काठमाडौँ मेयर्सले ५० ओभरमा नौ विकेटको क्षतिमा २४४ रन बनायो । उसका  लागि कप्तान लामिछानेले २० बलमा ६ छक्कासहित ४२ रन बनाए । 


यस्तै सन्दीप रजालीले ३३, सिद्धान्त लोहनीले ३४, सौरभ खनालले अविजित ४९ तथा विपिन खत्रीले ३२ रन बनाए । बलिङतर्फ बागमतीका नन्दन यादवले चार तथा रामनरेश गिरी र आरियो पौडेलले दुई/दुई विकेट लिए । २४५ रनको लक्ष्य पछ्याएको बागमतीले ३४ दशमलव तीन ओभरमा सवै विकेटको क्षतिमा १५० रन मात्र बनाउन सक्यो । बागमतीका लागि पृथु बास्कोटाले ६०, कप्तान ज्ञानेन्द्र मल्लले १७, आदिल खानले १५, पारस खड्काले १० तथा इशान पाण्डेले १७ रन बनाए । बलिङतर्फ काठमाडौँ मेयर्सका सन्दीप लामिछानेले तीन तथा बिपिन खत्री र अनिल खरेलले दुई/दुई विकेट लिए । लामिछाने ‘प्लेयर अफ दी म्याच’ घोषित भए । 

यसैगरी त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न अर्को खेलमा एपिएफले पुलिसमाथि रोमाञ्चक जीत हासिल गर्‍यो । पुलिस क्लबले ५० ओभरमा सात विकेटको क्षतिमा २५८ रन बनायो । पुलिसले दिएको २५९ रनको लक्ष्य एपिएफले एक बल बाँकी छँदै नौ विकेट गुमाएर पुरा गर्‍यो । एपिएफका सन्दीप जोराले ६१, सुवास खकुरेलले ५०, आसिफ शेखले ४२, सुमित महर्जनले ३३ र कप्तान शरद भेषवाकरले २० रन बनाए । बलिङतर्फ पुलिसका पवन सर्राफले पाँच, योगेन्द्रसिंह कार्कीले दुई तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक/एक विकेट लिए ।

यसअघि पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । उनले १३१ बलमा ११ चौका र ६ छक्काको मद्दतमा १४० रन बनाए । यस्तै पवन सर्राफले ३५, सुनिल धमलाले ३३, अनिल शाहले १८ तथा कुशल भुर्तेलले १० रन बनाए । एपिएफका लागि शरद भेषवाकरले तीन विकेट लिए । पुलिसका दीपेन्द्रसिंह ऐरी ‘प्लेयर अफ दी म्याच’ घोषित भए । रासस


Author

थप समाचार
x