खेलकुद

पोचेटिनोलाई बार्सिलोनाकै चिन्ता

इकागज |
फागुन २४, २०७७ सोमवार ७:१ बजे

काठमाडौँ : पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको दोस्रो स्थानमा छ । पछिल्ला आठ सिजनमा सात पटक लिग जितेको पीएसजी लगातार चौँथौँ पटक च्याम्पियन हुने धेयमा छ । 

तर त्यसका लागि माउरिसियो पोचेटिनोलाई सजिलो भने छैन । किनभने लिग लिडर लिल बलियो लयमा छ । क्रिस्टोफ गाल्टियरको प्रशिक्षणमा रहेको लिलले यस सिजन दुई लिग खेल मात्रै गुमाएको छ । 


त्यसो त, यसै जनवरीमा पीएसजी आइपुगेका पोचेटिनोसँग च्याम्पियन्स लिग र घरेलु कप जित्ने मौका पनि छ । शनिबार मात्रै कोप डे फ्रान्समा ब्रेस्टलाई ३-० ले पराजित गर्दै पीएसजीले अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

च्याम्पियन्स लिगमा पनि पीएसजी क्वार्टरफाइनलको नजिक छ । अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनालाई ४-१ हराएको पीएसजीले आउँदो साता घरेलु मैदानमा क्याट्लन क्लबलाई फेरि रोक्न सके पोचेटिनोले अर्को उपाधितर्फ पनि आँखा लगाउन सक्नेछन् ।  

यद्यपि पोचेटिनोले च्याम्पियन्स लिग उपाधिका बारेमा सोचिसकेका छैनन् । बार्सिलोनाविरुद्वकै दोस्रो लेगकै बारेमा पनि उनी सचेत छन् । अझ भनौँ चिन्तित छन् । ‘हामी सबै प्रतियोगिता जित्न चाहन्छौँ । लिग देखि च्याम्पियन्स लिगसम्म । तर त्यसो गर्न सजिलो छैन । हामीले प्रत्येक खेलका लागि योजना बनाएर अघि बढ्न आवश्यक छ । अब हाम्रो ध्यान बार्सिलोनासँगको खेलमा छ । हामीले पहिलो लेग जिते पनि बार्सिलोना बलियो टिम हो । त्यसकारण हामी धेरै आत्मविश्वासी हुनुहँदैन,’ पोचेटिनोले युरो स्पोटर्ससँग कुरा गर्दै भनेका छन् ।

उसो त च्याम्पियन्स लिगमा कुनै पनि टिम पहिलो लेगमा तीन गोल अन्तरले पराजित हँुदा उसले अर्को चरणमा स्थान पक्का गर्न सकेको छैन । तर पनि पोचेटिनो यस्तो रेकर्डले उत्साहित हुने मुडमा छैनन् ।


Author

थप समाचार
x