एसिया कपमा भारतले दोस्रो रोजाईको टिम पठाउने
काठमाडौँ: वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलका लागि इंगल्यान्ड जाने भारतीय क्रिकेट टिमलाई त्यहाँ १४ दिन सम्म क्वारन्टिनमा राखिने भएको छ । अहमदबादमा इगंल्यान्डविरुद्धको टेस्ट जितेपछि भारत टेस्ट च्याम्पियनसिप फाइनलका लागि छनौट भएको थियो ।
भारतले टेस्ट च्याम्पियनसिपको उपाधि भिडन्तमा जुन १८ मा न्यूजिल्यान्डको सामना गर्नेछ । तर त्यस खेलका लागि भारतीय खेलाडीहरूका लागि तयारी गर्न प्रर्याप्त समय भने हुने छैन । इन्डियन प्रिमियर लिग मे ३० मा सकिने हुँदा भारतीय टिम त्यस प्रतियोगिता सकेर इंगल्यान्डमा दुई साता लामो क्वारन्टिन बस्नेछ । जसले गर्दा च्याम्पियनसिप फाइनलका लागि तयारी समय अपुग हुने देखिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् ।
टेस्ट च्याम्पियनसिप फाइनल सकिएको एक महिनापछि भारतले इंगल्यान्डविरुद्वको टेस्ट श्रृङ्खला सुरु गर्नेछ । तर त्यसबिचको एक महिना भारतीय टिम इंगल्यान्डमै रहने बताइएको छ । जसले गर्दा इंगल्यान्ड जाने भारतीय खेलाडीले श्रीलंकामा हुने एसिया कप गुमाउने छन् ।
भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार जुन १८ देखि २२ सम्म हुने टेस्ट च्याम्पियनसिप फाइनल हुने र त्यो पछि भारतीय खेलाडीहरु स्वदेश नफर्की इंगल्यान्डमै घरेलु टिमसँगको श्रृङ्खलाका लागि तयारीमा व्यस्त हुनेछन् ।
जसका कारण श्रीलंकामा जुनको अन्तिम साताबाट हुने भनिएको एसिया कपमा भारतले आफ्ना पहिलो रोजाइका खेलाडीहरु त्यसतर्फ पठाउन सक्नेछैन । कप्तान विराट कोहली, रोहित शर्मा, रिसभ पन्त, जसप्रित बुमराह, हार्दिक पान्ड्या लगायतका खेलाडी टेस्ट तयारीका लागि बयस्त हुँदा भारतले एसिया कपका लागि युवा टोली उतार्नेछ । त्यस्तो अवस्थामा एसिया कपमा भारतीय टिमको कप्तानी केएल राहलले गर्ने सम्भावना रहेको दाबी टाइम्स अफ इन्डियाको छ ।
एसिया कपका पछिल्ला दुई संस्करण भारतले जितेको थियो । सन् २०१६ मा टि–ट्वान्टी ढाँचा र २०१८ मा ओडीआई ढाँचामा भएको एसिया कपको फाइनलमा भारतले बंगलादेशलाई हराएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया