खेलकुद

युरोपियन क्लब फुटबलमा यसै साता

लार्पोटाको पुनरागमन, लेवानडोस्कीको लय र इटालियन फुटबलमा बलिया मिलान क्लब

इकागज |
फागुन २५, २०७७ मंगलबार ७:१२ बजे

काठमाडौँ : आइतबार रियल म्याड्रिडले एक गोलले पछि परेको अवस्थालाई उल्टाउदै एथलेटिको म्याड्रिडलाई बराबरीमा रोक्यो । त्यसको एक दिन अघि डेर क्लासिकरमा बार्यन म्युनिखले बोरुसिया डर्टमन्डलाई ४-२ ले हरायो । 
त्यस्तै, एसी मिलानले हेल्लास भेरोनालाई २-० गोल अन्तरले पराजित गर्दै सिरी ए को उपाधि दौडमा इन्टर मिलान माथि दबाब बढायो ।

अनि यसै साता बार्सिलोनामा जोआन लार्पोटाले अध्यक्षका रुपमा पुनरागमन गरे । युरोपियन क्लब फुटबल यसै साता चाख्लाग्दा खेलहरू त भए नै, बार्सिलोनाले नयाँ अध्यक्ष पनि पायो ।


बेन्जमाको गोलले रोकिएको एथलेटिको  
स्पेनी ला लिगामा यस सिजन सुरुवाती साताबाटै एथलेटिकोले आफूलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गर्दै आएको छ । तर पछिल्ला चार लिग खेलमा एथलेटिकोले एक जित मात्रै निकालेको छ । अझ म्याड्रिड डर्बीमा रियलसँग बराबरी खेलेपछि त डिएगो सिमओनेको टिम लिग जित्ने विषयमा ढुक्क हुने अवस्थामा छैन । 

घरेलु मैदानमा लुइस स्वारेजको गोल मार्फत एथलेटिकोले सुरुवाती अग्रता लिएको थियो । तर करिम बेन्जेमाले ८८ औँ मिनेटमा गोल फर्काएपछि रियलले एक अंक खोस्यो । म्याड्रिड डर्बी सहित एथलेटिको यस सिजन छ खेलमा बराबरीमा रोकिएको छ । डर्बीको मात्रै कुरा गर्ने हो भने, एथलेटिकोले सहरी प्रतिद्वन्द्वीलाई पछिल्ला सात खेलमा हराउन सकेको छैन । 

लिगमा बार्सिलोना र रियलको भन्दा एक खेल कम खेलेको एथलेटिकोले ५९ अंक बटुलेको छ । उता दोस्रो स्थानको बार्सिलोनाको २६ खेलबाट ५६ अंक छ भने रियलले दुई अंक कम रहेको छ । एथलेटिकोले लिगमा बार्सिलोना, भिल्लारियल, एथलेटिक बिल्बाओ, सेभिल्ला र रियल बेटिस जस्ता बलिया विपक्षीको सामना गर्न बाँकी रहेको छ । उता बार्सिलोनाले भने एथलेटिको बाहेक रियलसँग पनि प्रतिस्पर्धा गर्न बाँकी छ । त्यसकारण ला लिगाको उपाधि दौड कुन दिशा तर्फ अघि बढ्छ, टुङ्गो छैन । 

क्लासिकरमा लेवानडोस्की नै बलियो 
गत शनिबार बार्यन म्युनिख र बोरुसिया डर्टमन्ड भिडे । तर त्यस खेलले यस पटकको बुन्डेसलिगा उपाधि दौडमा केही फरक पार्नेवाला थिएन । किनभने अंक तालिकामा डर्टमन्डको स्थान शीर्ष चार भन्दा बाहिर थियो । यद्यपि बार्यन र डर्टमन्डबीचको खेल प्रति चासो भने कम थिएन । 

त्यसो त बार्यन र डर्टमन्ड आलियान्ज ऐरेनामा उत्रदा रोबर्ट लेवानडोस्की र एर्लिङ हालान्डले कस्तो खेल देखाउलान भन्‍ने कौतुहलता पनि थियो । दुबैले गोल गरे । तर सुरुवातमा हालान्ड नै चम्किए । उनले खेल सुरु भएको १० मिनेट भित्र दुई गोल गरे । अब गोल गर्ने पालो थियो लेवानडोस्कीको । उनले पूर्व क्लबविरुद्व ह्याट्रिक नै गरे । बार्यनको चौँथौँ गोल गर्ने खेलाडी थिए, लियोन ग्रोएज्का । 

बुन्डेसलिगाकै सबैभन्दा ठूलो मानिने खेलमा दुई गोल गर्दा हालान्डको कुल गोल संख्या १९ पुग्यो । त्यो पनि १९ खेलमा नै । अनि सबैखाले प्रतियोगितामा गरी उनको गोल संख्या पुग्यो, २९ । हालान्डको चमत्कारिक गोल रेकर्ड लेवानडोस्कीका अगाडि भने फिक्का सावित हुन्छ । पोलिस स्ट्राइकरले यस सिजन लिगमा मात्रै ३१ गोल गरिसकेका छन् । अनि च्यामिपयन्स लिग र घरेलु कपमा गरी उनको गोल संख्या ३७ छ । 

लेवानडोस्कीको बलियो लयले बार्यनलाई आरबी लाइपजिग भन्दा एक कदम अगाडि रहन मद्दत गरेको छ । बार्यनले २४ खेलबाट ५५ अंक बनाएको छ । जुन लाइपजिगको भन्दा दुई अंकले बढी हो । गेर्ड मुलरको एकै सिजनमा ४० गोल गरेको कीर्तिमान भंग गर्ने धेयमा रहेका लेवानडोस्कीले बार्यनलाई च्याम्पियन बनाउन यही लय कायम राख्नु पर्ने आवश्यक छ । 

लार्पोटा बार्सिलाना फर्किए 
जोआन लार्पोटा फेरि बार्सिलोनाको अध्यक्ष बनेका छन् । निर्वाचित हुन साथ उनले लियोनल मेस्सी बार्सिलोनामै रहने आशा ब्यक्त गरे । अहिलेका लागि बार्सिलोनामा केही महत्वपूर्ण विषय मध्ये मेस्सीको भविष्य पनि एक हो । ‘मेस्सीले मलाई बधाई दिए । आशा छ उनी क्लबमा लामो समयसम्म रहनेछन्,’ लार्पोटाले भने ।

मेस्सीको बार्सिलोनासँगको सम्झौता आगामी जुनमा सकिँदैछ । उनी पेरिस सेन्ट जर्मेन, मयानचेस्टर सिटी लगायतका क्लबहरूसँग जोडिँदै आएका छन् । मेस्सीले बार्सिलोनाको बसाई लम्बाउछन् वा फरक निर्णय गर्छन्, अनुमान गर्न सजिलो छैन । तर लार्पोटा भने अर्जेन्टिनाका कप्तान क्याट्लोनियामै रहुन भन्‍ने चाहान्छन् ।

५८ वर्षीय लार्पोटा सन् २००३ देखि २०१० सम्म बार्सिलोनाको अध्यक्ष थिए । उनको कार्यकालमा मेस्सी विश्व फुटबलको स्थापित नाम बने । अनि बार्सिलोनाले चार ला लिगा र दुई च्याम्पियन्स लिग उपाधि पनि जित्यो । मेस्सी ३३ वर्ष पुगिसके । उनी करियरको उर्ताद्वमा छन् । बार्सिलोनाले केही वर्ष यता च्याम्पियन्स लिग र ला लिगामा स्वभाविक खेल देखाउन सकेको छैन । अहिले त झन् आर्थिक समस्या पनि थपिएको छ । यस्तोमा लार्पोटा मेस्सीको साथ चाहन्छन् । किनभने मैदानको सफलताले मात्रै बार्सिलोनाको समस्या समाधान गर्न सक्नेछ । जसमा मेस्सीको भूमिका मुख्य हुनेछ ।

इन्टरलाई पछ्याइरहेको मिलान
एसी मिलानले गत आइतबार हेल्लास भेरोनालाई २-० ले हराउँदा इन्टर मिलान माथि दबाब बनाउन सफल भयो । इन्टर सिरी ए को शीर्ष स्थानमा छ । इन्टरको २५ खेलबाट ५९ अंक छ । एक खेल बढी खेलेको मिलानको ५६ अंक रहेको छ ।

मिलानले पछिल्ला दुई खेल लगातार हार्दा इन्टरसँगको अंक दुरी बढेको थियो । राडे कु्रनिक र डिओगो डालोटले एक-एक गोल गरेपछि मिलानले महत्वपूर्ण तीन अंक बटुल्दै आफूलाई लयमा फर्कायो । तर सोमबार एटलान्टाको चुनौती पन्छाउँदै इन्टरले अंक दुरी फेरि तन्काउने सम्भावना भने छ ।

सिरी ए उपाधि दाबेदारितामा पछि परे पनि मिलानले युरोपा लिगमा भने आफ्नो दौडलाई कायम राख्न सफल भएको छ । लिग जित्न नसक्दा युरोपा लिगको उपाधिले मिलान सन्तुष्ट हुनेछ । तर त्यस्तो सफलता प्राप्त गर्न मिलानले पार गर्नुपर्ने बाटो सजिलो छैन । मिलानले यसै साता युरोपाको अन्तिम १६ मा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । युनाइटेडसँगको खेल मिलानका लागि कठिन परिक्षा हो । भर्खरै इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई हराएको युनाइटेडलाई रोक्न सके मिलानले युरोपाका अन्य बलिया टिमलाई आफू उपाधिको दाबदेर रहेको सन्देश दिनेछ ।


Author

थप समाचार
x