खेलकुद

युनाइटेडको समस्या सुल्झाउन सोल्सायर असफल

जोनाथन विल्सन |
कात्तिक २०, २०७७ बिहीबार ७:४४ बजे

म्यानचेस्टर युनाइटेड जारी प्रिमियर लिगको अंक तालिकाको पन्ध्रौं स्थानमा छ । यो सिजन उसले हारबाट सुरुवात गर्‍यो । ओल्ड ट्रार्फोडमा भएको खेलमा उसलाई क्रिस्टल प्यालेसले स्तब्ध बनाएको थियो । त्यसो त उसले यो सिजन घरेलु मैदानमा पनि तीन खेल गुमाइसकेको छ । सन् १९७३ पछि म्यानचेस्टर युनाईटेडले घरेलु मैदानमा अहिले जस्तो खराब सुरुवात कहिल्यै गरेको थिएन । जुन सिजन युनाइटेड इंग्ल्यान्डको पहिलो श्रेणीमा १८ औं स्थानमा सिमित रह्यो ।

 


सन् १९७३ देखि यता फुटबलमा धेरै परिवर्तन भइसक्यो । सुरुवात नराम्रो भए पनि युनाइटेड यस सिजन रेलिगेट नै होला भनेर सोच्न सकिदैंन । बुधबार च्याम्पियन्स लिगमा कम आँक्न नमिल्ने प्रतिद्वन्द्वी आरबी लाइपजिगलाई हराउँदै युनाइटेडले आफू कमजोर नरहेको जनाऊ दिने प्रयत्न गर्‍यो । तर घरेलु लिगमा उसको अवस्था कमजोर रहेको तथ्यलाई नजरअन्दाज गर्न सकिदैन । उ पहिलो स्थानमा रहेको लिभरपुलभन्दा नौ अंकले पछि परिसक्यो ।

 

च्याम्पियन्स लिगमा बलियो प्रर्दशन गरेको युनाइटेड प्रिमियर लिगमा किन फितलो ? प्रश्न उठ्छ । शायद यसको उत्तर प्रशिक्षक ओले गनर सोल्सायरसँग पनि नहोला । गत साता चेल्सी र यसपटक आर्सनल । दुबै क्लबका अघि युनाइटेडको सुरुवात फितलो देखियो ।

 

कुनै समयमा बेलयाती बिद्वान आइजेय बर्लिनले मानिसलाई फ्याउरो र ‘हेजहग्स’ (दुम्सी जस्तै एक प्रजाती) गरी दुई भागमा विभाजित गरेका थिए । फ्याउरो चलाख हुन्छ । उसलाई धेरै कुराको ज्ञान हुन्छ भनिन्छ । तर हेजहग्सलाई एउटै कुराको मात्र ज्ञान हुन्छ । सोल्सायर नेतृत्वमा रहेको युनाईटेडलाई शायद ‘हेजहग्स’सँग दाँज्न सकिन्छ । किनभने युनाईटेड एउटा शैलीमा आत्मविश्वासी देखिन्छ । त्यो भनेको रक्षात्मक भएर खेल्ने प्रत्याक्रमणमा गोल गर्न प्रयास गर्ने ।

तर युनाइटेडको मुख्य समस्या पोग्बाको पोजिसन वा भुमिका होइन । बरु उनको खेल्ने शैली हो । युनाइटेडले न त बिपक्षीलाई दबाबमा राख्न सकेको छ न त दबाब खेप्न सकेको छ ।

रोचक तथ्य के छ भने, सोल्सायरको नेतृत्वमा युनाईटेडले हसिल गरेका महत्वपुर्ण जितहरु यही शैली अपनाउदा हात परेका छन् । विशेषगरी बलिया टोलीसँग प्रतिस्पर्धा गर्दा युनाइटेडले यस्तो शैलीको प्रयोग गरेको छ । त्यस्ता टोलीसँग खेल्दा युनाईटेड सधै पहिलो गोल गर्न चाहान्छ । विपक्षीभन्दा पहिले गोल गर्ने, त्यसपछि रक्षात्मक रहने अनि प्रत्याक्रमणमा थप गोल गर्न प्रयास गर्ने । तर यस्तो शैलीले युनाइटेडलाई सधै फाइदा गरेको छैन । चेल्सी विरुद्घको खेलमा उसको शैली असफल रह्यो । त्यो खेलमा संयोगवश दुबै टीमको शैली एकै खालको थियो । दुबै रक्षात्मक रहे । एक अर्काको गल्ती पर्खेर बसे । तर गोल गर्न भने असफल रहे ।

 

युनाइटेडसँग आर्सनलले ‘हाइप्रेस’ खेल खेल्यो । मिकेल आर्टेटाको टोलीले खेल अवधिभर अधिकांश समय बल आफ्नो कब्जामा राख्न सफल भयो । तर जवाफी गोल भने थप्न सकेन । त्यसै पनि आर्सनलमा गोल गर्ने मौका सिर्जना गर्न सक्ने खेलाडीको अभाव देखिएको छ । यता, युनाईटेड यो सिजन सुस्त देखिन्छ । उसका खेलाडीहरु बल पास गर्नमा कमजोर देखिन्छन् । उसले प्रिमियर लिगका ठूला प्रतिद्वन्द्वी क्लब बिरुद्घमा खेलेको २९ अवे खेलमा एउटा जित पनि दर्ता गर्न सकेको छैन । प्रश्न उठ्छ, सोल्सायरले ठुला क्लबबिरुद्व खेल्दा शैली परिवर्तन गर्ने बेला आएको हो ?

 

यसै सिजन आर्सनल आएका थोमस पार्टे र मोहम्मद एलनेनीको जोडीले युनाइटेडको आक्रमण सम्हालेका मार्कस रासर्फोड र म्यासन ग्रिनउडलाई चल्न दिएनन् । रासर्फोड र ग्रिनउडको जोडीले खेलमा केही राम्रा आक्रमण पनि गरे । दुबै खेलाडी तीव्र गतिका छन् । सायद त्यसैले होला, सोल्सायरले रक्षात्मक हुने र मौका पाउदा जवाफी आक्रमण गर्ने शैलीलाई आर्सनल विरुद्ध पुरै ९० मिनेट नै प्रयोग गरेको । तर युनाइटेड जत्तिको ठुलो टीमसँग खेल जित्न एउटा भन्दा धेरै चालबाजी हुनैपर्छ । उपाधी माथि दाबेदारी प्रस्तुत गर्छु भन्ने जुनसुकै टीम एउटा शैली वा चालबाजीमा सीमित हुनुहुँदैन ।

 

युनाइटेडले लाइपजिगसँगको खेलमा ‘डाइमन्ड मिडफिल्ड’को प्रयोग गरेको थियो । आर्सनलबिरुद्घ पहिलो ४५ मिनेटमा सोल्सायरको मिडफिल्ड संरचना छनौट उस्तै थियो । तर दोस्रो हाफमा युनाइटेडले आफुलाई ४-२-३-१ संरचनामा ढाल्यो । त्यस योजना अन्र्तगत युनाइटेडले पउल पोग्बालाई दायाँ विङ्समा खेलायो । यस्तो संरचनामा खेल्दा युनाइटेडले आर्सनलका फुलब्याकहरुलाई एक हदसम्म रोक्न सफल भयो । तर दुबै टोली गोलको अवसर र्सिजना गर्नेभन्दा पनि एकआपसको गल्ती पर्खिने र त्यसलाई गोलको अवसरमा बदल्ने योजनामा अडिग रहे ।

युनाइटेडले भने आफूलाई न त रक्षात्मक शैलीमा पोख्त बनाउन सकेको छ । न त पर्याप्त गोल नै गर्न सकेको छ । सोल्सायर युनाइटेडमा कुनै पनि शैली प्रयोगमा प्रभावकारी देखिएका छैनन् । आफुले चुनेको खेल शैली मै असफल रहने टीमले उपाधी चुम्न सक्दैन ।

गल्ती पोग्बाबाट भयो । उनले गल्ती गर्दा आर्सनलले पेनाल्टी प्राप्त गर्‍यो । जसलाई पियर एमेरिक अबुमेयाङले सजिलै गोलमा परिणत गरे । पोग्बा फेरी पनि आलोचित हुनेछन् । शायद उनको आलोचना जायज हो । उनले यस सिजन घरेलु मैदानमा सम्पन्न तीन खेलमा दुई पेनाल्टी दिएका छन् । सोल्सायरलाई पोग्बाको उत्कृष्ट पोजिसन कुन हो भनेर कसैले सोध्यो भने उत्तर दिन नसक्लान । तर युनाइटेडको मुख्य समस्या पोग्बाको पोजिसन वा भुमिका होइन । बरु उसको खेल्ने शैली चाही हो । युनाइटेडले न त बिपक्षीलाई दबाबमा राख्न सकेको छ न त दबाब खेप्न सकेको छ ।

 

त्यसो त सुरुवात देखि नै सोल्सायरले युनाइटेडमा अपेक्षित आक्रमक फुटबल खेलाउन सक्छन, सक्दैनन् भन्ने प्रश्न उठिरहेकै थियो । सधै एकैनासको आक्रमक फुटबल खेलाउनमा जोड दिने भन्दा पनि उनले, फरक-फरक शैलीको प्रयोग गर्दै आएका छन् । युनाइटेडले रक्षात्मक खेल खेल्न हुदैन भनेको होइन । तर कुनै पनि शैलीको प्रयोगमा पूर्ण सफलता पाउने गरी खेलाडी अनि प्रशिक्षकले जिम्मेवारी पुरा गरेका छन् या छैनन् भन्ने प्रश्न महत्वपूर्ण रहन्छ । यस सिजन कतिपय खेलमा चेल्सीले रक्षात्मक भएर खेलेको छ । ऊ युनाइटेडविरुद्व उत्रिदाँ पनि रक्षात्मक नै थियो । तर त्यस शैलीमा ऊ सफल रह्यो ।

 

त्यस्तै आर्सनलले यो सिजन ‘हाइप्रेस’ खेलमा जोड दिइरहेको छ । अर्टेटा त्यस्तो शैलीको प्रयोगमा उत्साहित देखिएके छन् । खेलाडीहरुले आ-आफ्नो जिम्मेवारी पुरा गरिरहेको देखिएको छ । तर युनाइटेडले भने आफुलाई न त रक्षात्मक शैलीमा पोख्त बनाउन सकेको छ । न त पर्याप्त गोल नै गर्न सकेको छ । सोल्सायर युनाइटेडमा कुनै पनि शैली प्रयोगमा प्रभावकारी देखिएका छैनन् । आफुले चुनेको खेल शैली मै असफल रहने टीमले उपाधि चुम्न सक्दैन ।

(द गार्डियनमा प्रकाशित आलेखको अनुवाद इकागजका प्रबिनबिक्रम कटवालले गरेका हुन् ।) 


Author

थप समाचार
x