खेलकुद

मेयर कपमा बागमती र पुलिसको जित

इकागज |
फागुन २५, २०७७ मंगलबार १९:५५ बजे

काठमाडौँ: मेयर कपमा मंगलबार बागमती प्रदेश र नेपाल पुलिस क्लबले जित दर्ता गरेका छन् । प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा बागमतीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २७ रनले पराजित गर्‍यो । उता विभागिय डर्बीमा पुलिस त्रिभुवन आर्मीविरुद्व तीन विकेटले विजयी भयो । 

कीर्तिपुरस्थित त्रिभुवन क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ् गरेको बामतीले निर्धारित ५० ओभरमा छ विकेट गुमाउँदै दुई सय ३३ रन बनायो । जवाफी ब्याटिङ गरेको एपीएफले टस ४४.५ ओभरमा दुई सय छ रन मात्र बनायो । 


बागमतीको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । ज्ञानेन्द्रले ८४ बलको सामना गर्दै सात चौकाको सहयोगले ५७ रन बनाए । त्यस्तै नन्दन यादवले अविजित ६० रनको योगदान गरे । नन्दनले ५६ बलको सामना गर्दा सात चौका प्रहार गरे । बागमतीका लागि पारस खड्का र इशान पान्डेले क्रमशः २९ र ३१ रन जोडे । 

एपीएफका लागि किशोर महतो र अमर रौतेलाले दुई–दुई विकेट लिए । त्यस्तै, अविनाश बोहोरा र बसन्त रेग्मीले समान एक-एक विकेट हात पारे । 

एपीएफका लागि ओपनर आसिफ शेखले ५० रन बनाए पनि विभागिय टिमको हार टार्न सकेन । त्यस्तै, शंकर राना, सन्दिप जोरा र अमर रौतेलाले क्रमशः २९, २५ र २७ रन जोडे । बागमतीका लागि सोनु देवकोटाले छ विकेट लिए । त्यस्तै, रामनरेश गिरी र अरियो पौडेलले दुई-दुई विकेट हात पारे । 

दिनको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ३०.१ ओभरमा ८७ रन बनायो । आर्मीलाई सस्तैमा समेट्न पुलिसका सागर ढकालले पाँच विकेट लिए । त्यस्तै पवान सर्राफले तीन र ललित राजवंशीले दुई विकेट लिए ।  आर्मीका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । त्यस्तै, रोहित पौडेल र विक्रम सोबले क्रमशः १३ र १४ रन बनाए । आर्मीका बाँकी खेलाडीले भने दोहोरो अंक छुन सकोनन् । 

आर्मीले दिएको ८८ रनको लक्ष्य पछ्याएको पुलिसका लागि सुनिल धमलाले ३९ रन बनाए । त्यस्तै पवन सर्राफले २२ रन जोडे भने दिलिप नाथले १५ रनको योगदान गरे । बलिङतर्फ आर्मीका शहब आलमले सात विकेट हात पारे । 
   
 


Author

थप समाचार
x