खेलकुद

रेन्जर्सको पुनरागमनमा नायक बनेका स्टिभन जेरार्ड

इकागज |
फागुन २६, २०७७ बुधबार ६:५० बजे

काठमाडौँ : स्कटिस क्लब रेन्जर्सले सन् २०१८ मा स्टिभन जेरार्डलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय जोखिम मुक्त थिएन । तर रेन्जर्सलाई जोखिम लिनु नै थियो । अनि जेरार्डमाथि विश्वास र धैर्यता राख्‍ने बाध्यता । लिभरपुलका पूर्व कप्तानले रेन्जर्स प्रशासन र समर्थकलाई निराश बनाएन् । र, स्कटल्यान्डको दोस्रो सफल क्लबलाई लिग उपाधि दिलाए ।

जारी स्कटिस प्रिमियरसिपमा दोस्रो स्थानमा रहेको सेल्टिक गत आइतबार डन्डी युनाइटेडसँग बराबरीमा रोकिएपछि रेन्जर्स १० वर्ष यता पहिलो पटक च्याम्पियन बन्यो । जेरार्ड रेन्जर्सको प्रशिक्षक बन्‍नुअघि उनीसँग प्रर्याप्त अनुभव थिएन । लिभरपुलको लामो समय कप्तानी गरेका जेरार्ड सोही क्लबको अण्डर-१८ टिमसँग व्यस्त थिए । अमेरिकी लिगको एलए ग्योलेक्सीमा केही समय रही जेरार्ड आफ्नो ‘कोचिङ ब्याच’ सक्नतर्फ लागे । 


त्यसपछि उनको पहिलो जागिर थियो लिभरपुलको युवा टोली हेर्ने जिम्मेवारी । त्यसो त जेरार्ड इंगल्यान्डको तेस्रो श्रेणीको लिग जान सक्थे । उनलाई एमके डन्सबाट प्रस्ताव आएको थियो । तर उनले त्यो बाटो रोज्न चाहेनन् । जेरार्ड बरु ग्लास्गोतर्फ हानिए । जेरार्ड र रेन्जर्स दुवैको निर्णय सही सावित भयो । जेरार्डको रेन्जर्स जाने निर्णय र रेन्जर्सको पूर्व लिभरपुल मिडफिल्डरलाई भित्र्याउने निर्णय । 

जेरार्डले रेन्जर्सको माहोल बुझ्‍न सके । लिगमा सफल हुनुपर्ने दबाबले विरक्तिएनन् । आलोचना सहे । पूर्व प्रशिक्षकहरूले जस्तो गुनासो गरिरहेनन् । फलस्वरुप जेरार्ड रेन्जर्सको नायक बनेका छन् । रेन्जर्सलाई सेल्टिकको छायाँबाट निकाल्न सफल भएका छन् । 

त्यसो त जेरार्ड आफैँले पनि रेन्जर्समा सिकाईको प्रक्रियालाई निरन्तरता दिन पाए । उनलाई क्लबले पर्याप्त समय दियो । त्यसै पनि, युरोपका नाम चलेका क्लबमा युवा प्रशिक्षकलाई धैर्यतापूर्वक समय दिइदैंन । त्यस मामलामा जेरार्ड भाग्यमानी दरिए । जसका कारण जेरार्डले आफूलाई प्रशिक्षकका रुपमा परिस्कृत गर्ने मौका पाए ।

रेन्जर्समा जेरार्डले आफ्ना मित्रहरूलाई सहायक बनाउन पाए । १८ महिना अघि मात्रै सक्रिय खेल करियरबाट सन्यास लिएका जेरार्डलाई उनकै छनौटको प्रशिक्षण टोली बनाउन दिनु अर्को जोखिम थियो । तर जेरार्डको मुख्य सहायकका रुपमा रेन्जर्स आएका ग्यारी म्याकअलिस्टरको अनुभव महत्वपूर्ण सावित भयो । त्यस्तै प्राविधिक निर्देशक बनेका टम कुल्सहको कुशलताले रेन्जर्सलाई फाईदा नै भयो । विशषे गरी सरुवा बजारमा खेलाडी खरिद बिक्रिमा । अनि लिभरपुलबाटै आएका माइकल बिलले जेरार्डलाई दैनिक अभ्यास र खेल तयारीमा मद्दत गरे । 

जेरार्डले आफ्ना सहायकहरूको प्रशंसा गर्न छुटाएका छैनन् । गत महिना स्थानिय अखबारलाई अन्तवार्ता दिँदै जेरार्डले बिलको शैलीको प्रशंसा गरेका थिए । चेल्सीको युवा टिमको प्रशिक्षक बनेर प्रशिक्षण करियर सुरु गरेका बिलले करिब पाँच वर्ष सम्म लिभरपुल अण्डर-२३ को जिम्मेवारी सम्हाले । रेन्जर्समा बिलले सञ्चालन गर्ने दैनिक अभ्यास सेसन हेर्न पाउँदा आफू दङ्ग हुने गरेको जेरार्डले अन्तवार्तामा बताएका थिए ।

तथ्यांकले रेन्जर्सलाई स्कटिस लिगमा सबैभन्दा बलियो टिम त बनाएकै छ, युरोपियन क्लब फुटबलमा समेत इज्जत दिलाएको छ । स्कटिस लिगलाई युरोपका धेरै लिग भन्दा कमजोर लिग मानिए पनि, जेरार्डको नेतृत्वमा रेन्जर्सले अपराजित हुँदै सिजन समापन गरे, त्यसले क्लब र प्रशिक्षक दुबैको उचाई बढाउने नै छ ।

कुनै पनि टिम सफल हुन प्रशिक्षकले लागू गर्ने खेल शैली र रणनीतिको महत्व हुन्छ नै । खेल्ने शैलीमा असपष्टता भए खेलाडीहरूले अपेक्षाकृत प्रर्दन गर्नसक्ने अवस्था रहँदैन । जेरार्ड भने रेन्जर्समा स्पष्ट योजना लिएर मैदानमा उत्रे । उनले युवा तथा स्थापित नभइसकेका खेलाडीहरुको उच्चतम उपयोगमा गर्न सके । त्यसो त जेरार्ड सुरुवाती दुई सिजना सफल भने भएका थिएनन् । सन् २०१३ मा स्कटिस प्रिमियरसिप भन्न थालिएको स्कटिस लिग जित्दै आएको सेल्टिकलाई जेरार्डको रेन्जर्सले भेट्टाउन सकेन । यस पटक लिग जित्न भने जेरार्डले आफ्नो खेल शैलीमा आवश्कीय परिवर्तन गरे । टिममै पनि परिवर्तन गरियो ।  

जेरार्डले रेन्जर्स पुगेकै वर्ष टिममा परिवर्तन ल्याउनु पर्ने आवश्यकता रहेको बुझिसकेका थिए । उनले क्लब अध्यक्ष डेभ किङ्ग लाई सरुवा बजारका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने सुझाए । केही ‘ट्रान्सफर विन्डो’ को उपयोग गरेपछि मात्रै रेन्जर्स लिग जित्न सक्ने टिमका रुपमा उभिन सक्ने जेरार्डको बुझाई थियो । भयो पनि त्यस्तै । 

अनुबन्धित गरिएका सबै खेलाडी क्लबमा फिट हुन्छन् भन्ने छैन । रेन्जर्सले खरिद गरेका केही खेलाडी जेरार्डको टिमका लागि कामलाग्ने खाल्का थिएनन् । इरोस ग्रेज्दा, ओभी इजरिया र उमर सादिख रेन्जर्समा नचल्ने कतिपयले पहिल्यै अनुमान गरेका थिए । पूर्व लिभरपुल खेलाडी जोन फ्लानागन, जोर्डन रोसिस्टर लगायतका खेलाडी पनि रेन्जर्समा असफल भए । जोर्डन जोन्स, ग्रेग स्टेवार्टको रेन्जर्समा अहले पनि आवश्यकता छैन । 

तर रेन्जर्सले खरिद गरेका अन्य खेलाडी भने महत्वपूर्ण सावित भएका छन् । एलन म्याकग्रेगर, जेम्स टाभेरनियर र कोनर गोल्डसन पहिलाबाटै रेन्जर्स टिमका मुख्य सदस्य थिए । जेरार्डले टिमलाई थप बलियो बनाउन इयानिस हाजी र जो अरिबोलाई भित्र्याए । केमार रोफ र सेड्रिक इट्टेनको आगमनले रेन्जर्सको बेन्च बलियो बन्यो । जसका कारण रेन्जर्स सुरवाती एघारमा मात्रै होइन, बेन्चमा पनि बलियो देखियो ।

रेन्जर्समा जेरार्ड प्रशिक्षकका रूपमा परिस्कृत त भए नै । उनले खेलाडीको कौशल र प्रदर्शनलाई सुधार्न पनि त्यत्तिकै मेहेनत गरे । रायन केन्ट र बोर्ना बारिसिच जेरार्डको प्रशिक्षणमा खारिएका खेलाडी हुन् । रेन्जर्समा जेरार्ड र उनका खेलाडीहरूले धैर्यता राख्न सिके । आक्रमकता व्यहवारमा होइन, खेलमा देखाउनु पर्ने बुझे । प्रशिक्षक तथा खेलाडीमा देखिएको यस्तो परिपक्वताले रेन्जर्सलाई लिग जितायो । 

रेन्जर्सले यस सिजन एकै शैलीमा मात्रै खेलेको छैन । आक्रमक देखि आवश्यकता परेको बेला रक्षात्मक रणनीति अपनाएको छ । प्रत्येक खेललाई उत्तिकै महत्व दिएर तयारी गरेको छ । त्यसकै नतिजा हो रेन्जर्सको अपराजित यात्रा । स्कटिस लिगमा मात्रै होइन, युरोपा लिगमा पनि रेन्जर्सले एउटै खेल हारेको छैन । घरेलु लिगमा रेन्जर्स चार खेलमा मात्रै बराबरीमा रोकिएको छ भने युरोपामा दुई खेलमा । त्यो पनि बलियो बेनफिकासँग । रेन्जर्सले ३२ खेलमा ७७ गोल गरेको छ भने नौ गोलमात्रै खाएको छ । घरेलु मैदानमा त रेन्जर्सले दुई गोल मात्रै खाएको छ । 

तथ्यांकले रेन्जर्सलाई स्कटिस लिगमा सबैभन्दा बलियो टिम त बनाएकै छ, युरोपियन क्लब फुटबलमा समेत इज्जत दिलाएको छ । स्कटिस लिगलाई युरोपका धेरै लिग भन्दा कमजोर लिग मानिए पनि, जेरार्डको नेतृत्वमा रेन्जर्सले अपराजित हुँदै सिजन समापन गरे, त्यसले क्लब र प्रशिक्षक दुबैको उचाई बढाउने नै छ । (बेलायती अखबार दी टाइम्सको सहयोगमा)


Author

थप समाचार
x