च्याम्पियन्स लिगमा असफल भएपछि अन्यौलमा पिर्लो र रोनाल्डोको भविष्य
काठमाडौँ: सन् २०१८ को जुनमा युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई टुरिन लग्यो । रियल म्याड्रिडबाट पोर्चुगिज स्टारलाई क्लबमा भित्र्याउनुको लक्ष्य थियो, च्याम्पियन्स लिग जित्ने । युभेन्टसले २१ औँ शताब्दीमा च्याम्पियन्स लिग नजितेकाले पनि उसलाई रोनाल्डोको साथ चाहिएको थियो ।
तर, रोनाल्डोको सम्मिलत युभेन्टस यस सिजन सहित लगातार तीन सिजन असफल भएको छ । उपाधि जित्ने त परको कुरा, सेमिफाइनल सम्म पुग्न सकेको छैन । यस सिजन प्रशिक्षक परिवर्तन भएपनि युभेन्टसको लक्ष्य च्याम्पियन्स लिग जित्ने नै थियो । रोनाल्डोलाई नायक बनाएर । मंगलबार एफसी पोर्टोसँगको खेल अगाडि पनि पिर्लोले भनेका थिए, ‘च्याम्पियन्स लिग जस्तो प्रतियोगिता रोनाल्डोकै लागि हो ।’
यद्यपि फेरि पनि च्याम्पियन्स लिग रोनाल्डोको रहेन । न त युभेन्टस उपाधि नजिक नै पुग्न सक्यो । बरु रोनाल्डोबिना नै युभेन्टस सन् २०१५ र २०१७ को बिचमा दुई पटक च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको थियो । तर पछिल्ला तीन सिजनमा भने युभेन्टस उपाधि दौडबाट टाढा हुँदै गएको छ ।
पोर्टोसँग पहिलो लेगमा २-१ ले पराजित भएको युभेन्टसले आलियान्ज रंगशालामा नतिजा उल्टायो । तर ३-२ को जितले पनि युभेन्टसलाई क्वार्टरफाइनल पुर्याएन । युभेन्टस च्याम्पियन्स लिगबाट त बाहिरियो नै, सिरी ए उपाधि दौडमा पनि पिर्लोको टिम देखिएको छैन । पछिल्ला १० वर्ष अन्य क्लबलाई लिग उपाधि जित्न नदिएको युभेन्टसले यस पटक मिलानका दुई क्लबसँग हार मानिसकेको अवस्था छ । युभेन्टस कोपा इटालियाको फाइनलमा त पुगेको छ । तर घरेलु कपको विजेता बन्दैमा युभेन्टस यस सिजन सफल भएको मानिँदैन ।
युभेन्टस गत दुई सिजन आयाक्स र लियोनसँग पराजित हुँदै च्यामिपयन्स लिगबाट बाहिरिएको थियो । इटालियन क्लब यसपटक पोर्टोको सिकार बन्यो । युभेन्टसका अध्यक्ष आन्द्रेइ आग्नेलीले तीन सय चालिस मिलियन युरो खर्च गरेर रोनाल्डोले इटालीमा खेल्ने व्यवस्था मिलाएका थिए । तर निरन्तर साना भनिएका क्लबसँग हार ब्यर्होर्दै जित्ने लक्ष्य राखिएको प्रतियोगिताबाट बाहिँरिदा अध्यक्ष आग्नेली पक्कै खुशी छैनन् । तर प्रश्न उठ्छ, उनले रोनाल्डो र पिर्लोको विषयमा के निर्णय गर्छन् ? जब की रोनाल्डो युभेन्टसका लागि आर्थिक भार र पिर्लो च्याम्पियन्स लिग जिताउन सक्ने प्रशिक्षक नभएको पुष्टी भइसक्यो ।
गत साता मात्रै युभेन्टसकै प्राविधिक निर्देशक फाबियो पाराटिसीले पिर्लोमाथि युभेन्टसको विश्वास कायम रहेको बताएका थिए । पोर्टोसँगको हार पछि पिर्लोलाई उनको भविष्यका बारेमा सोधियो । पिर्लोको भनाई थियो, ‘मैले त्यसबारेमा सोच्ने बेला भइसकेको छैन,’ तर पिर्लो कहिले सम्म युभेन्टसमा रहन्छन्, अहिले नै उत्तर पाउन ग्राहो छ । रोनाल्डोको हकमा पनि त्यही हो ।
रोनाल्डोको गोल गर्ने क्षमतामा शंका गर्ने ठाउँ छैन । तर उनी पिर्लोको शैलीमा ‘फिट’ नभएको देखिएको छ । पोर्टोसँगको पहिलो लेगमा रोनाल्डो प्रभावकारी देखिएनन् । दोस्रो लेगमा पनि रोनाल्डोले युभेन्टसको नेतृत्व लिन सकेनन् । बरु २३ वर्षिय फेडरिको किएसाले युभेन्टसको आशा जगाए ।
इटालीमा कतिपय फुटबल विश्लेषकले किएसा युभेन्टसको मुख्य खेलाडी बन्न सक्ने अनुमान गर्न थालेका छन् । फियोरेन्टिनाबाट लोनमा युभेन्टस आएका कियसाले घरेलु लिग र च्याम्पियन्स लिगमा गरी ११ गोल गरेका छन् । त्यस्तै, उनले आठ असिस्ट दर्ता गरेका छन् । उनले पोर्टोविरुद्ध गोल गर्दा रोनाल्डोको पास उपयोग गरेका थिए ।
किएसा र उनी जस्तै युवा खेलाडीको सेरोफेरामा युभेन्टसले अब नयाँ टिम निर्माण गर्नुपर्छ भन्ने भनाइ असान्दर्भिक होइन । तर प्रश्न फेरि उही । युवा खेलाडीले भरिने नयाँ युभेन्टसको नेतृत्वमा कसले लिने ? युवा प्रशिक्षक भनिएको पिर्लोले ? वा अर्को कुनै अनुभवी प्रशिक्षकले ? यी प्रश्नको उत्तर सायद आग्नेलीले सिजनको अन्त्यमा देलान् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया