खेलकुद

मेस्सीबिनाको बार्सिलोना ‘प्वाल परेको डुङ्गा’ जस्तै

इकागज |
फागुन २८, २०७७ शुक्रबार ६:४० बजे

काठमाडौँ : च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा यसपटक बार्सिलोनो हुनेछैन । पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग अन्तिम १६ मा पराजित भएसँगै बार्सिलोना १४ वर्षमा पहिलो पटक च्यामिपयन्स लिगको क्वार्टरफाइनलमा नहुने भएको हो ।  
पहिलो लेगमा क्याम्प नोउमै चार गोल खाँदै पराजित भएको बार्सिलोनाले दोस्रो लेगमा आफूलाई सुधार्‍यो । पीएसजीको घरेलु मैदानमा लियोनल मेस्सीले गोल गरेपछि बार्सिलोनले बराबरी खेल्यो । 

पहिलो लेगमा ठूलो गोल अन्तरले हारेको बार्सिलोना दोस्रो लेगमा बराबरीमा रोकिँदा क्याट्लोनियाका अखबारहरूले त्यस नतिजामा खुशी देखिए । उनीहरूले बार्सिलोना च्याम्पियन्स लिगबाट इज्जतिलो तवरमा बाहिरिएको भन्न भ्याए । स्मरणिय के छ भने, गत सिजन क्वार्टरफाइनलमा बार्यन म्युनिखसँग बार्सिलोना हार्दा तीनै अखबारहरूले बार्सिलोनाको खेदो खनेका थिए ।  


पीएसजी पक्कै पनि युरोपियन क्लब फुटबलमा बलियो मानिने टिम हो । तर फ्रेन्च टोलीसँगको हारले बार्सिलोनाका कप्तान मेस्सीको भविष्यका बारेमा प्रश्न उठ्ने वातावरण बनेको छ । नउठोस पनि किन, जबकी बार्सिलोना र मेस्सी सन् २०१५ यता एकपटक मात्रै च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेका छन् । 

बार्सिलोनाका लागि च्याम्पियन्स लिग सधैँ महत्वपूर्ण रहँदै आएको छ । स्पेनको मात्रै होइन, युरोपकोसमेत सबैभन्दा ठूलो क्लब दरिन बार्सिलोनालाई प्रत्येक सिजन च्याम्पियन्स लिग उपाधि उचाल्ने दबाब रहन्छ । तर केही वर्ष यता बार्सिलोना च्याम्पियन्स लिग उपाधिको दाबेदार बन्न सकेको छैन । 

यसपटक पीएसजीसँगको खेल हारेकोमा न त खेलाडी आक्रोशित देखिए, न त स्पेनको सञ्चार माध्यम नै । बरु मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेकोमा गुनासो सुनियो । अनि सन् २०१७ मा पीएसजीविरुद्ध गरिएको पुनरागमनलाई पनि सम्झिएको देखिएन । बरु कमजोर बार्सिलोनाले बलियो पीएसजीलाई बराबरीमा रोक्न सकेको भन्दै सन्तोष मानियो । 

‘हो हामी च्याम्पियन्स लिगबाट बाहिरिएका छौँ । तर हामी निराश छैनौँ,’ खेलपछि प्रशिक्षक रोनाल्ड कुमनको भनाई थियो । उता टिमका मुख्य रक्षक जेरार्ड पिकेको प्रतिक्रिया पनि फरक थिएन । ‘पहिलो लेगमा ठूलो हारका बाबजुद पनि दोस्रो लेगमा हामीले राम्रो खेल्यौँ । यो सिजन अझै सकिएको छैन । र, हामी अन्तिमसम्म पनि हार मान्ने छैनौँ,’ पिके तीनै ब्यक्ति हुन जसले गत वर्ष बार्यनसँगको हारपछि क्लबमा तलदेखि माथिसम्मै परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए ।

त्यसो त बार्सिलोनामा परिवर्तन नै नभएको होइन । नयाँ अध्यक्ष आएका छन् । लुईस स्वारेज जस्ता पाका खेलाडीले क्लब छाडेका छन् । अनि पेड्री जस्ता युवा प्रतिभाको उदय भएको छ । हो, बार्सिलोनाको आर्थिक अवस्था खराब छ । कती सम्म भने एरिक गार्सियामाथि तीस लाख युरो खर्च गर्नुलाई महंगो सम्झौता मानिएको छ । बार्सिलोनाबाट समर्थकले यस पटक खासै अपेक्षा गरेका छैनन् । क्लब ‘रिकभरी’ को चरणमा रहेको सबैको बुझाइ छ । 

यस्तो वातावरणमा प्रशिक्षक कुमनले बार्सिलोनालाई उपयुक्त ढङ्गले सम्हालिरहेका छन् भनेर विश्लेषण गर्नेको कमी छैन । हो पनि । कुमनको प्रशिक्षणमा बार्सिलोना ला लिगामा दोस्रो स्थानमा छ । अनि घरेलु कपको फाइनलमा स्थान पक्का गरेको छ । यदी बार्सिलोनाले कोपा डेल रे जित्ने हो भने बार्सिलोनाको जरुर उद्वार हुनेछ । लिग नै जिते अनपेक्षित सफलता मानिनेछ ।  

विगत केही वर्ष यता पक्कै पनि बार्सिलोना मेस्सीले चाहेको स्तरमा छैन । यही कारणले उनले जारी सिजनलाई बार्सिलोना बसाईको अन्तिम बनाउन सक्नेछन् । तर म्यानचेस्टर सिटी, पीएसजीले एर्लिङ हालान्ड र किलियान एमबाप्पेलाई अबको स्टार मानिरहेको परिपेक्ष्यमा मेस्सीसँग कुन स्तरको विकल्प हुनेछन् ? अनुमान सजिलो छैन । 

फेरि बार्सिलोनामा मेस्सीले बसाई लम्ब्याउने छन् भन्ने आशा पनि नभएको होइन । विशेष गरी जोआन लार्पोटाको पुनरागमन पछि । कुनै समय युवा मेस्सी सम्मिलत बार्सिलोना लगातार सफल भइरहँदा अध्यक्ष थिए उनै लार्पोटा । त्यसकारण पनि दुईबीच सहमती हुने सम्भावनालाई नकारिएको छैन । 

‘पछिल्लो समय बार्सिलोनामा सकारात्मक परिवर्तन भइरहेको मेस्सीले देखेका छन् । युवा खेलाडीहरूको आगमनले टिम बलियो बन्दै गइरहेको अवस्था छ । त्यसकारण मेस्सी वा अरु कसैले पनि बार्सिलोनाको भविष्यका बारेमा प्रश्न उठाउँने ठाउँ छ जस्तो लाग्दैन,’ उत्साहित कुमनले भने । 

नयाँ अध्यक्षको आगमन, युवा प्रतिभाहरूको उदय, सरुवा बजारमा पीएसजी र सिटीको अनिश्चितता लगायतका कारण मेस्सीले बार्सिलोना नछाड्ने अनुमान भइरहेको छ । तर यदि अनुमान गलत ठहरिए, लोर्पोटा गम्भिर समस्यामा पर्नेछन् । पहिल्यै आर्थिक अभावसँग जुधिरेहेको बार्सिलोना मेस्सी रहित हुने हो भने, लार्पोटे प्वाल परेको डुङ्गाको कप्तान बन्नेछन् । (अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा)


Author

थप समाचार
x