खेलकुद

रोनाल्डोको रियल फर्कने हल्लाबारे जिदान के भन्छन् ?

इकागज |
फागुन २९, २०७७ शनिबार १४:२८ बजे

काठमाडौँ: स्पेनी ला लिगमा रियल म्याड्रिडले अपेक्षाकृत लय देखाउन नसकिरहेको बेला क्रिस्टियानो रोनाल्डो जिनेदिन जिदानको टिममा फर्कने हल्ला चलिरहेको छ । युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएपछि रोनाल्डाको इटाली बसाइबारे अड्कलबाजी भइरहेको छ । 

स्पेनका अखबारहरूले रोनाल्डोका एजेन्ट जर्ज मेन्डेसले रोनाल्डोलाई पुरानो क्लबमा फर्काउन रियल प्रशासनलाई सम्पर्क गरेको दाबी गरेका छन् । यसै सन्दर्भमा रियलका प्रशिक्षक जिदानलाई शुक्रबार सोधिएको थियो । 


‘रोनाल्डोले रियलका लागि कुन स्तरको योगदान गरेका छन् भन्‍ने हामी सबैलाई थाहा छ । उनी यो क्लबको गर्बिलो इतिहासको हिस्सा हुन् । तर अहिले लाई उनी युभेन्टसको खेलाडी हुन् । त्यस तथ्यको हामीले सम्मान गर्नुपर्छ,’ जिदानले रोनाल्डो रियल फर्कने समाचारबारे सोधिएको प्रश्‍नलाई पूर्णरुपमा सम्बोधन गर्न इन्कार गरे । 

पोर्चुगलका कप्तान रोनाल्डो रियलको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । सन् २०१८ को जुलाईमा इटाली जानुअघि रोनाल्डोले रियलको जर्सीमा चार सय ३८ खेल खेल्दै चार सय ५१ गोल गरेका थिए । रोनाल्डोको अनुपस्थितिमा रियल संर्घषरत रहेको भन्‍ने अभिव्यक्ति चारैतिरबाट आइरहदा ३६ वर्षीय फरवार्ड स्पेन फर्कने सम्भावनालाई जिदानले पूर्णरूपमा इन्कार नगर्नुलाई स्वभाविक मानिएको छ । 
  


 


Author

थप समाचार
x