खेलकुद

हाजार्डको शरीर रियल म्याड्रिडमा, मन चाँही चेल्सीमा

इकागज |
फागुन २९, २०७७ शनिबार १७:४३ बजे

काठमाडौँ: रियल म्याड्रिडले एडेन हाजार्डलाई चेल्सीबाट स्पेन ल्याउन धेरै मेहेनत गर्नुपर्‍यो । विशेषगरी प्रशिक्षक जिनेदिन जिदानले । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले हाजार्डलाई अनुबन्ध गर्न चासो नदेखाए पनि जिदानले भने बेल्जियन प्लेमेकरका लागि लबी गरिरहे । 

अन्ततः रियलले हाजार्डलाई भित्र्यायो । चेल्सीसँगको सम्झौता एक वर्ष मात्रै बाँकी रहेको अवस्थामा हाजार्ड सन् २०१९ मा रियल पुगे । स्पेनी क्लबले हाजार्डका लागि एक सय मिलियन युरो खर्च गर्‍यो ।  ठूलो अपेक्षा गरेर अनुबन्ध गरिएका हाजार्डले रियलमा खासै जादू देखाउन भने सकेका छैनन् ।


चेल्सीमा तीन सय ५२ खेल खेल्दा एक सय १० गोल र ९२ असिस्टको योगदान गरेका हाजार्डले रियलमा उही लय देखाउन सकेका छैनन् । चोटका कारण धरै खेल गुमाएका हाजार्डले मैदानमा रहँदा पनि बलियो खेल देखाएका छैनन् । रियलको जर्सीमा उनले ३५ खेल खेलेर जम्मा चार गोल मात्रै गरेका छन् । हाजार्ड प्रतिभाशाली खेलाडी भए पनि उनी रियलका लागि सही खेलाडी हुन नसकेको भन्दै म्याड्रिडका अखबारहरुले आलोचना गरिरहन्छन् । यस शनिबार पनि म्याड्रिडको सञ्चार माध्यममा हाजार्डको आलाचना भएको छ ।

स्पेनमा लोकप्रिय रहेको अखबार एएसले हाजार्डको बारेमा लेखेको छ,‘हाजार्डले गत ३६५ दिनमा २० खेल खेलेका छन्, अनि जम्मा तीन गोल गरेका छन् । हो, उनी उच्च स्तरको खेलाडी हुन् तर उनले रियलको जर्सीमा आफ्नो स्तर अनुसारको खेल देखाएका छैनन्, यस्तो लाग्छ उनको शरीर मात्रै रियल म्याड्रिडमा छ तर मन चाँही चेल्सीमा।'


Author

थप समाचार
x