खेलकुद

नेपाल सुपर लिगका सात टिम घोषणा

इकागज |
चैत १, २०७७ आइतबार १७:३७ बजे

काठमाडौँ: नेपाल स्पोर्टस एण्ड म्यानेजमेन्टले आयोजना गर्ने नेपाल सुपर लिग (एनएसएल) मा भाग लिने सात फ्रेन्चाइज फुटबल टोली सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बैशाख ११ बाट सुरु हुने लिगमा भाग लिने टिमको सार्वजानिक गरिएको हो । 

एनएसएलमा विराटनगर, काठमाडौँ, ललितपुर, चितवन, पोखरा, बुटवल र धनगढीबाट एक-एक टिम सहभागी रहनेछन् । विराटनगरबाट विराटनगर सिटी फुटबल क्लब, काठमाडौँबाट काठमाडौँ रेजर्स र ललितपुरबाट ललितपुर फुटबल क्लब सहभागी हुनेछन् । 


त्यसैगरी, चितवनलाई एफसी चितवनले प्रतिनिधित्व गर्नेछ भने पोखराबाट पोखरा थन्डर्स एनएसएलमा रहनेछ । बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लब क्रमशः बुटवल र धनगढी सहरका टोली रहनेछन् । 

काठमाडौँस्थित दशरथ रंगशालामा आयोजना हुने लिगमा भाग लिने क्लबहरुको स्वामित्व ब्यपारिक समूहहरुले लिएका छन् । विराटनगर सिटी एफसीको स्वामित्व अनुप रञ्जन भट्रराइको समूहले लिएको छ भने काठमाडौँ रेजर्सको मालिक मोरङ अटो वर्क्‍स रहेको छ । त्यस्तै भाटभटेनी सुपर मार्केटले ललितपुर फुटबल क्लबमा लगानी गरेको छ भने चितवन एफसीसँग आइएमई समूह संलग्न छ । 

उता पोखरा थन्डर्सको मालिक लक्ष्मी समूह रहेको छ भने बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लबको स्वामित्व क्रमशः राजकुमार तिमिल्सिना र सुवास शाहीको समूहसँग रहेको छ ।  

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना हुने लिगका खेलहरु राउण्ड रोबिनमा खेलाइनेछन् । प्रत्येक टिमले स्वदेशीसँगै विदेशी खेलाडी पनि राख्न पाउनेछन् । खेलाडीको अक्सन हुनेछ जसबाट प्रत्येक टिमले तीन विदेशी सहित २० खेलाडी खरिद गर्न सक्नेछन् ।   

एनएसएलको सद्भावना दुत बलिउड स्टार सोहेल खान रहेको र उनी पनि लिग हेर्न आउने कार्यक्रममा जानकारी दिइयो । 


Author

थप समाचार
x