खेलकुद

पेलेको रेकर्ड भंग गरेपछि रोनाल्डोले भने : इतिहास मेट्न सकिँदैन

इकागज |
चैत २, २०७७ सोमबार १४:४१ बजे

काठमाडौँ: क्रिस्टियानो रोनाल्डोले आइतबार राति सिरी ए मा कालियारीविरुद्ध हयाट्रिक गरे । एकै खेलमा तीन गोल गरेर रोनाल्डोले युभेन्टसलाई महतवपूर्ण तीन अंक बटुल्न मद्दत त गरे नै, विश्‍व फुटबलमा नयाँ कीर्तिमान पनि राखे । 

कालियारीसँगको खेलमा गरेको गोललाई जोड्दा ३६ वर्षिय रोनाल्डोले आफ्नो करियरमा गरेको गोलको कुल संख्या सात सय ७० पुगेको छ । ब्राजिलका सर्वकालिन महान् खेलाडी पेलेले आफ्नो करियरमा सात सय ६७ गोल गरेको बताइन्छ । यद्यपि पेलेको आधिकरिक गोलसंख्या सात सय ५७ गोल रहेको पनि कतिपयको दाबी छ । जसलाई यसअघि नै रोनाल्डोले भंग गरिसकेका थिए । 


पेलेको रेकर्ड भंग गरेका रोनाल्डो आफू यतीमै नरोकिने बताउँछन् । ‘म नयाँ रेकर्ड र थप उपाधिका लागि तयार छु । मेरो यात्रा यतीमै सकिँदैन । भविष्यमा अझैँ जित्नु छ । युभेन्टस र पोर्चुगलका लागि धेरै उपाधि जित्न बाँकी नै छ,’ रोनाल्डाले भनेका छन् । 

रोनाल्डोले पेलेप्रति आफू सधैँ नतमस्तक रहेको र उनले राखेको कीर्तिमानको सम्मान गरेको पनि बताए । ‘मेरा लागि पेलेको गोलसंख्या सात सय ६७ नै हो । उनले साओ पाओलो र ब्राजिलियन सैन्य टिमका लागि गरेको गोल पनि आधिकारिक नै मान्‍नुपर्ने बताए । 'त्यसलाई हामीले बदल्न सक्दैनौँ,’ रोनाल्डोको भनाइ थियो । 


Author

थप समाचार
x