खेलकुद

यूईएफए च्याम्पियन्स लिग : ​पीएसजी बाहिरियो, रियल म्याड्रिड क्वाटरफाइनल प्रवेश

इकागज |
फागुन २६, २०७८ बिहीबार ६:२२ बजे

काठमाडौं - फ्रेन्च फरवार्ड करिम बेन्जेमाको ह्याट्रिक प्रेरित  रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको  अन्तिम १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई  ३-१ अन्तरले पराजित  गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

बुधबार राति घरेलु मैदान सान्तियागो बार्नाबेउमा पुनरागमन जित सहित स्पेनिस लिग लिडर रियल  समग्रमा ३-२ अन्तरले जित निकाल्न सफल भएको हो । रियलको जितमा कप्तान बेन्जेमाले दोस्रो हाफको १७ मिनेटको अन्तरालमा ह्याटि्रक पूरा गरे ।


खेलको ३९ औं मिनेटमा किलीयन एमबाप्पेले गोल गर्दै पाहुना टोली पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो लेगमा १-० को अग्रता लिएको पीएसजी यस गोलसंगै सहज जित तर्फ अग्रसर भएको थियो ।

तर ६१ औं मिनेटमा बेन्जेमाले पीएसजीका गोलरक्षक जियानलुइजी डोनारुम्माले गरेको गम्भीर गल्तिको फाइदा उठाउदै बराबर गोल गरे । उनले  भिनिसियस जुनिअरको पास सदुपयोग गरे ।

७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । जहाँ पीएसजीका कप्तान मार्किन्होस गल्ती गर्न पुगेका थिए । गोलको सेलेब्रेसन पूरा नहुदै अर्को मिनेटमै पुनः बेन्जेमाले ह्याटि्रक पूरा गरे  । 

रियलको जितसंगै ट्रान्सफर मार्केटमा च्याम्पियन्स लिग जित्न ठूलो लगानी गरेको पीएसजी प्रतियोगिताको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । उसले यस सिजन मात्रै टोलीमा लियोनल मेस्सी, सर्जियो रामोस लगायत खेलाडी भित्राएको थियो ।

आजनै भएको अर्को खेलमा म्यानचेस्टर सिटी र स्पोर्टिङ लिस्बनको खेल गोलरहित बराबरीमा सकिएपनी पहिलो लेगमा निकालेको ५-० अन्तरको जितका साथ सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


Author

थप समाचार
x