खेलकुद

मलाई च्याम्पियन्स लिग जित्‍न भनिएको छ : पेप ग्वार्डिओला

इकागज |
चैत ४, २०७७ बुधबार १३:४८ बजे

काठमाडौँ: च्याम्पियन्स लिगको अन्तिम १६ मा बोरुसिया मन्चुनग्लाडबागको चुनौती पन्छाउँदै म्यानचेस्टर सिटीले क्वार्टरफाइनलमा स्थान पक्का गर्‍यो । पहिलो लेगमा २-० को जित दर्ता गरेको सिटीले मंगलबार राती दोस्रो लेगमा उही गोलअन्तरले विजयी भयो । 

सिटी सबै विभागमा जर्मन विपक्षीभन्दा बलियो देखियो । बुडापेस्टमा कुनै पनि समय मन्चुनग्लाडबागले गोल गर्ने छाँटकाँट देखाएन । बरु खेलको १२ औँ मिनेटमै केभिन डी ब्रुएनाले सिटीलाई अग्रता दिलाए । त्यसको छ मिनेटपछी सिटीले अर्को गोल थप्यो । एल्काई गुन्डोगनले आफ्नै मुलुकको टिमविरुद्व फिल फोडनको पासको उपयोग गर्दै सिटीलाई समग्रमा ४-० को अवस्थामा पुर्‍याए । 


पेप ग्वार्डिओलाको नेतृत्वमा सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको यो पहिलो पटक होइन । पछिल्ला तीन सिजन सिटीले क्वार्टरफाइनलको यात्रा तय गरेको छ । तर ग्वार्डिओलाको प्रशिक्षणमा सिटी सेमिफाइनल पुग्‍न सकेको छैन । ग्वार्डिओला आफैले पनि बार्सिलोना छाडेपछि च्याम्पियन्स लिग जित्न सकेका छैनन् । 

अघिल्ला दुई प्रशिक्षकको नेतृत्वमा प्रिमियर लिग जितेको सिटीले ग्वार्डिओलालाई इंगल्यान्ड ल्याउनुको मुख्य कारण च्याम्पियन्स लिग जित्ने लक्ष्य भएको तथ्य लुकेको छैन । तर त्यसमा ग्वार्डिओला सफल भइसकेका छन् । ग्वार्डिओला आफैँले पनि सिटी बसाई सफल बनाउन च्याम्पियन्स लिग जित्नुपर्ने बताएका छन् । 

‘सिटीले कस्तो फुटबल खेल्छ भन्ने विषयले मेरो मुल्याङ्कन हुनेवाला छैन । बरु कती उपाधि जित्यो भन्ने विषयले महत्व राख्नेछ । त्यसमा पनि च्याम्पियन्स लिग जिते मात्रै मेरो सिटी करियर सफल भएको मानिनेछ,’ सिटीले गत महिना भनेका थिए । 

मंगलबार मन्चुनग्लाडबागलाई हराएपछि पनि सिटी प्रशिक्षक ग्वार्डिओलाले सोही कुरा दोहोर्‍याए । सिटी आएको पहिलो वर्षदेखि नै आफूलाई च्याम्पियन्स लिग जित्ने दबाब रहेको ग्वार्डिओलाको भनाई थियो । ‘पहिलो वर्षबाटै मलाई च्याम्पियन्स लिग जित्नुपर्छ भनिएको छ । यो प्रतियोगिता जित्ने जिम्मेवारी हाम्रै हो । तर मेरो नजर उपाधिमाथि अझैँ पनि छैन । किनभने हामी स्टेप बाइ स्टेप अघि बढ्नु पर्ने आवशयकता छ,’ ग्वार्डिओलाको भनाई थियो । 

 
 


Author

थप समाचार
x