सिमओनेसँगको सम्बन्धबारेमा फिलिक्सको स्पष्टिकरण
काठमाडौँ: गत फ्रेबुअरी २८ को कुरा हो । स्पेनी ला लिगामा एथलेटिको म्याड्रिडले भिल्लारियलको सामना गरिरहेको थियो । खेलको २५ औँ मिनेटमा भिल्लारियलका अल्फन्सो पेडराजाले आत्मघाती गोल गरेपछि एथलेटिकोले सुरुवाती अग्रता लिएको थियो । एथलेटिकोको दोस्रो गोेल भने जोआओ फिलिक्सले गरे ।
फिलिक्सले गोलको खुसीयाली मनाउने क्रममा बेन्चतर्फ हेर्दै आफ्नो चोर औला ओठतिर लगेका थिए । उनको खुशीयाली मनाउने शैलीलाई एथलेटिकोका प्रशिक्षक डिएगो सिमओनेतर्फ लक्षित भएको बताइएको थियो । त्यसपछि फिलिक्स र सिमओनेबीचका सम्बन्ध बिग्रेको अड्कल पनि काटियो ।
तर हालै फिलिक्सले त्यस्तो आरोपमा सत्यता नरहेको बताएका छन् । च्याम्पियन्स लिगमा चेल्सीसँगको खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मलेनमा फिलिक्सले यस विषयमा आफूले पहिले पनि स्पष्टिकरण दिइसकेको बताए । ‘मैले सहकर्मी रेनान लोडीसँग मजाक गर्दै गोलको खुशीयाली मनाएको हो । उनले मलाई खेलअघि गोल गर्न सक्दैनस भनेर जिस्काइरहेका थिए । गोल गरेपछि मैले उनलाई हेर्दै खुशीयाली मनाएको हो । तर स्पेनी प्रेसले त्यो विषयलाई उछाल्यो,’ फिलिक्सले भने ।
फिलिक्सले फेरि पुनः स्पष्टिकरण दिँदा पनि उनलाई सिमओनेसँगको सम्बन्धका बारेमा प्रश्न सोध्न छाडिएन । ‘सिमओनेसँग मेरो सम्बन्ध हार्दिक छ । उनले मलाई स्पेनी फुटबलमा भिज्न सहयोग गरेका छन् । एउटा खेलाडीले सधैँ उही स्तरको प्रदर्शन गर्न सक्दैन । त्यसबखत केही निराशा हुन्छ । तर म एथलेटिकोमा खुसी छु,’ फिलिक्सले भने ।
२१ वर्षिय फिलिक्सले यस सिजन १० गोल र पाँच अस्सिट आफ्नो नाममा लेखाएका छन् । कोभिड–१९ को संक्रमण र चोटका कारण केही खेल गुमाए पनि फिसलक्सले एथलेटिकोमा सन्तोषजनक प्रदर्शन गरेका छन् ।
उता सिमओनले पनि फिलिक्सको प्रशंसा गर्दै पोर्चुगिज युवा फरवार्ड आफ्नो टिमका लागि महत्वपूर्ण रहेको बताए । ‘फिलिक्स हाम्रो टिमका आवश्यकिय खेलाडी हुन् । उनी कलिले छन् । त्यसकारण उनको खेलमा हामीले उतारचढाव पनि देखेका छौँ । त्यो सामान्य हो,’ सिमओनेले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया