एन्टी डोपिङ अभियानलाई सार्थक तुल्याउँछौँ - मन्त्री गहतराज
फाइल फोटो
काठमाडौँ - युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने बताएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी खेलकुदमा एन्टी डोपिङसम्बन्धी १७औँ एशिया÷ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा मन्त्री गहतराजले नेपालको तर्फबाट प्रतिबद्धतासहितको प्रस्तुति गरेका हुन् ।
यस्तै मन्त्रालयका सचिव डा दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टी डोपिङ संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया सुरु गरेको बताए ।
उनले आगामी दिनमा एन्टी डोपिङसम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गरे ।
बैठकमा नेपालको प्रयासको सहभागी राष्ट्रले सराहना गरेका सचिव रेग्मीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
बैठकमा ४५ देशको सहभागिता रहेको छ । बैठकले सन् २०२२ देखि २०२४ सम्मका लागि रणनीति पारित गरेको छ ।
सचिव रेग्मीका अनुसार, खेललाई स्वच्छ बनाउन एन्टी डोपिङ संस्थालाई थप प्रभावकारी बनाउने कुरामा जोड दिइएको छ ।
नेपाली प्रतिनिधिमण्डलले विश्व एन्टी डोपिङ सङ्घ र क्षेत्रीय एन्टी डोपिङ सङ्घका पदाधिकारीसँग भेट गर्नाका साथै एन्टी डोपिङमा नेपाललाई सहयोग गर्न अनुरोध गरेको थियो । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया