खेलकुद

बागमतीमा जारी राजर्षि जनकपमा हिमालयन सेर्पाको विजयी सुरुवात

इकागज |
चैत २, २०७८ बुधबार २१:६ बजे

सर्लाही -​ छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा हिमालयन सेर्पा क्लब काठमाडौंले विजयी सुरुवात गरेको छ । बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा हिमालयन सेर्पा क्लब काठमाण्डौले धु्रवतारा स्पोर्टस क्लब झापालाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ६८औँ मिनेटमा हिमालयन सेर्पाको लागि खेलाडि सुरेश कुमालले गोल गरे । कुमालले गरेको गोलनै हिमालयन सेर्पाको जितका लागि पर्याप्त बन्यो । मध्यान्तर सम्म बराबरी भएको खेलमा दुवै टिमका खेलाडि आक्रामक अवस्थामा देखिएका थिए । 

यस्तै खेलको पहिलो हाफमा पाएको आधा दर्जन बढी अवसर सदुपयोग गर्न नसक्दा धु्रवतारा स्पोर्टस झापा पराजित भयो । पहिलो मध्यान्तर सम्म धु्रवतारा स्पोर्टसले झण्डै आधा दर्जन बढी गोल गर्ने अवसर पाएको थियो । धु्रवतारा स्पोर्टसका खेलाडीहरूले मध्यान्तर अघि सम्म निकै उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, उनीहरू गोल गर्नबाट भने पटक पटक चुके । 


धु्रवताराका खेलाडीहरूले गरेको सशक्त प्रहार हिमालयनका गोलकिपर किशोर गिरीले निकै उत्कृष्ट ढंगले बचाउ गरे । खेलको मध्यान्तर अघि सम्म झापा नै हाबी रह्यो । प्रतियोगितामा हिमालयन सेर्पाका लागि गोल गरेका कुमाल म्यान अफ दि म्याच घोषित भएका छन् । जितसँगै हिमालयन सेर्पा काठमाण्डौले चैत ६ गते हुने क्वाटर फाइनल खेलमा पिप्ले यूवा क्लब हेटौडासगँको भेट पक्का गरेको छ । 

यस्तै बिहीबारको प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लब र नव जनजागृति युवा क्लब सिमरा मैदानमा उत्रदैछन् । बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदामा सुरुभएको खेलको भव्य सभारोहका बीच उद्घाटन गरिएको थियो । खेलको संविधान सभा सदस्य एवं नेकपा एमाले नेता हरि उप्रेतीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा स्थानीय कलाकारहरूले नृत्य समेत प्रस्तुत गरेका थिए । 

बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजनामा सुरुभएको प्रतियोगिताको फाइनल चैत १३ गते हुनेछ । यस क्षेत्रमै सर्वाधिक पुरस्कार राशि भएको यस प्रतियोगितामा ४ विभाजित र ए डिभिजनका ४, मोफसलका ६, एक पाहुना र एक घरेलु टोली गरेर १२ टोलीले सहभागिता जनाएका छन् । 

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल फुटबल क्लब चितवन, धु्रवतारा स्पोटिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका हुन् ।  प्रतियोगिताको विजेताले राजर्षि जनक कप १० लाख १ हजार र उप विजेताले सिल्ड ५ लाख ५ सय मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।


Author

थप समाचार
x