खेलकुद

सामूहिक प्रयासले जित : रोहित शर्मा

इकागज |
कात्तिक २१, २०७७ शुक्रबार १२:४० बजे

इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गरेपछि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले सामूहिक प्रयासले जित सम्भव भएको प्रतिक्रिया दिएका छन् । बिहीबार सम्पन्‍न खेलमा मुम्बई ५७ रनले विजय भएको थियो ।

छैटौं पटक आइपीएलको फाइनलमा स्थान बनाउने क्रममा मुम्बईले दिल्लीलाई हराउन धेरै कसरत गर्नु परेन । खेलपछि विश्लेषकहरुले मुम्बईले दिल्लीविरुद्व प्रतियोगिता भरकै उत्कृष्ट प्रर्दशन गरेको जनाएका छन् । कप्तान शर्मा पनि त्यसमा सहमत देखिए । 'सायद यो हाम्रो प्रतियोगिता भरकै उत्कृष्ट प्रर्दशन थियो । दोस्रो ओभरमै विकेट गुमाएपछि हामीले सम्हालिएर खेल्यौं । त्यसपछि हाम्रो लय झन बलियो भयो । हामी बलिङ र ब्याटिङ दुवैमा बलियो थियौं,' शर्माले खेलपछि भने, 'हामी स्पष्ट योजनाका साथ मैदानमा उत्रिएका थियौं । जसमा हामी सफल भयौं ।'


उनले टेन्ट्र बोल्ट र जसप्रित बुमराहको बलिङको पनि प्रशंसा गरे । साथै घाइते भएका भनिएका बुमराहको अवस्था ठिकै रहेको पनि जानकारी दिए । 'प्रतियोगिताकै सबैभन्दा ठुलो खेल आउँदैछ । हामीसँग तयारीका लागि ३-४ दिन छ । त्यसकारण पनि उनी ठिक हुन जरुरी छ । उनी फाईनलका लागि तयार हुनेछन् भन्ने हाम्रो विश्वास छ,' शर्माले थपे ।

उता पराजित दिल्लीका कप्तान श्रेयस ऐरले खेलमा मुम्बईको मध्यक्रममा खेलिरहेका दुई ब्याट्सम्यानको विकेट लिए पनि खेलमा थप दबाब सिर्जना गर्न नसकेको स्वीकार गरेका छन् । 'हामीले बलियो सुरुवात गरेको हो । उनीहरुले १३ या १४ ओभरमा ११० रन मात्र बनाउन सकेका थिए । तर हामीले त्यस्तो अवस्थाको फाइदा उठाउन सकेनौं । हामीले त्यतिबेला दुई विकेट त लियौं तर मुम्बईको थप क्षती गर्न सकेनौ' ऐरको प्रतिक्रया थियो ।  


Author

थप समाचार
x