खेलकुद

भलिबलमा चितवन प्रथम, फुटबलमा दोलखा र ललितपुर सेमीफाइनलमा

इकागज |
चैत ३, २०७८ बिहीबार १९:५३ बजे

फाइल फोटो

मकवानपुर - प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा जारी खेलकुद अन्तरगत महिला र पुरुष दुबै भलिबलमा चितवन प्रथम भएको छ । 

बुधबार भएको फुटबल खेल अन्तरगत भने दोलखा र ललितपुर सेमिफाइनल प्रवेश गरेको छ ।


प्रतियोगिताको पुरुष फुटबलतर्फ आज भएको खेलमा दोलखा र ललितपुर विजयी भएका छन् । 

हेटौंडाको क्याम्पा रंगशालामा जारी खेलको पहिलो क्वाटरफाइनल खेलमा ललितपुर र रामेछापबीच भएको थियो । 

निर्धारित समयमा गोल नभएपछि ट्राइवेकरमा रामेछापलाई हराउदैं ललितपुर सेमीफाइनल प्रवेश गरेको छ । ललितपुरले ट्राइवेकरमा ४–१ गोलअन्तरले रामेछापलाई पराजित गरेको हो । 

त्यस्तै, दोस्रो खेल दोलखा र भक्तपुरबीच भएको थियो । भक्तपुरलाई ३–१ गोल अन्तरले दोलखाले सेमीफाइनल यात्रा तय गरेको छ । दोलखाका मिलन श्रेष्ठले ३७ मिनेटमा पहिलो गोल गरेका थिए । भक्तपुरका सनिश खड्गीले ४८ मिनेटमा दोलखालाई एक गोल फर्काएका थिए । 

खेलको दोस्रो हाफमा दोलखाका धिरज खत्रीले ६४ र सञ्जय जिरेलले ९२ मिनेटमा एक÷एक गोल गरेका थिए । यससँगै दोलखा सेमीफाइनल प्रवेश गरेको हो । बिहीबार दुई खेल हुनेछन् ।

पहिलो सेमीफाइनल खेल ललितपुर र धादिङबीच हुनेछ भने दोस्रो खेल दोलखा र मकवानपुरबीच हुने खेल संयोजक कल्पना शर्माले बताए । खेल नकआउट चरणमा खेलाइएको छ ।  

पुरुष क्रिकेटतर्फ  
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको जारी क्रिकेट खेलको  पहिलो खेलमा सुपर ओभरमा  दोलखालाई हराउदैं ललितपुर विजयी भएको छ । 

टस जितेर ब्याटिङ रोजेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाउदैं १४९ रन बनाएको थियो । खेलमा दोलखाले पनि २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो । 

बराबरी रन पश्चात सुपर ओभर अन्तरगत एक÷एक ओभर खेल्दा दोलखाले १३ रन र ललितपुरले १६ रन बनाउदैं ललितपुर विजयी भएको हो । 

त्यस्तै, दोस्रो खेलमा काभ्रे ९ विकेटले विजयी भएको छ । टस जितेर बलिङ रोजेको काभ्रेलाई सिन्धुपाल्चोकले ५ विकेट गुमाएर १५७ रन बनाएको थियो ।
 
काभ्रेले एक विकेट गुमाएर १२.१ ओभरमा १६१ रन बनाएकोे खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । 

शुक्रबार दुई खेल हुनेछ । पहिलो खेल भक्तपुर र काभ्रे तथा दोस्रो खेल मकवानपुर र ललितपुरबीच हुने क्षेत्रीले बताए । 

प्रतियोगितामा  सिन्धुलीले सहभागिता जनाएको छैन् ।​

महिला पुरुष दुबै भलिबलमा चितवन प्रथम  

चितवनको माडी खेल मैदानमा भएको महिला भलिबल तर्फ चितवन प्रथम भएको छ । विहीबार भएको फाइनल खेलमा रामेछापलाई सोझो सेटमा हराउदैं चितवन प्रथम भएको हो । चितवनले रामेछापलाई  २५–१०,२५–१८,२५–११ मा हराएको थियो । 

पुरुष तर्फभने चितवन नै प्रथम भएको छ । आजै भएको फाइनल खेलमा सिन्धुलीलाई सोझो सेटमा हराउदैं प्रथम भएको हो । चितवनले सिन्धुलीलाई २५–२१,२५–२१,२५–१९ मा हराएको खेल संयोजक अशोककाजी थापाले बताए ।

विजेता र उपविजेतालाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे लगायतका व्यक्तित्वहरुले मेडल, नगद र प्रमाणपत्र प्रदान गरे ।
 


Author

थप समाचार
x