खेलकुद

प्रथम बागमती प्रदेश खेलकुद

फाइलनमा मकवानपुर र ललितपुर भिड्ने

आजबाट तेक्वान्दो खेल सुरु

सरिता दाहाल |
चैत ५, २०७८ शनिबार ७:५२ बजे

मकवानपुर- प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको फुटबलतर्फ मकवानपुर र ललितपुर फाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा ट्राइवेकरमा ललितपुरले ५–३ गोलअन्तरले धादिङलाई हराउँदै फाइनल प्रवेश गरेको हो । हेटौंडाको क्याम्पा रंगशालामा जारी खेलमा निर्धारित खेलमा गोल हुन नसकेपछि खेल ट्राइवेकरमा गएको थियो ।

त्यस्तै दोस्रो खेलमा मकवानपुर फाइनल प्रवेश गरेको छ । घरेलु मैदानमा दोलखालाई  ५–१  गोलअन्तरले हराउँदै मकवानपुर फाइनल प्रवेश गरेको हो । मकवानपुरका लागि १४ मिनेटमा समिरराज थोकरले पहिलो गोल गरेका थिए । खेलको ३४ मिनेटमा मकवानपुरका ललित चौलागाईले थप एक गोल थपेका थिए ।


खेलको दोस्रो हाफमा दोलखाका स्वंयम श्रेष्ठले ५३ मिनेटमा मकवानपुरलाई एक गोल फर्काएका थिए । मकवानपुरको तर्फबाट ५५ मिनेटमा समिरराज थोकरले थप एक गोल गरेका थिए । खेलमा मकवानपुरका लागि अमिर श्रेष्ठ र अनिष महर्जनले थप एक/एक गोल गर्दै  ५–१ को गोलअन्तरले मकवानपुर फाइनल प्रवेश गरेको खेल संयोजक कल्पना शर्माले बताइन् । आइतबार दिउँसो ३ बजे फाइनल खेलमा मकवानपुर र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ । खेल नकआउट चरणमा खेलाइएको थियो ।

क्रिकेटतर्फ
क्रिकेटतर्फ मकवानपुर र काभ्रे सेमिफाइनल प्रवेश गरेका छन् । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुषतर्फको जारी क्रिकेट खेलमा मकवानपुर र काभ्रे सेमिफाइनल प्रवेश गरेका हुन् । आज भएको पहिलो खेलमा काभ्रे ८ विकेटले विजयी भएको छ । भक्तपुरले २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो । काभ्रेले १२.५ ओभरमै २ विकेट गुमाउँदै १३३ रन बनाएको थियो ।

त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको मकवानपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर ललितपुरलाई १५८ रनको लक्ष्य दिएको थियो । ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन मात्रै बनाएको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए ।

आज दुई खेल हुनेछ । पहिलो खेल धादिङ र काठमाडौँ तथा दोस्रो खेल नुवाकोट र चितवनबीच हुने क्षेत्रीले बताए । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन् । मकवानपुरमा आजबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । हेटौंडा ४ पारिजातपथमा रहेको कभर्डहलमा खेल हुने खेल संयोजक माधव कोइरालाले बताए । प्रतियोगितामा १३ जिल्लाकै सहभागिता रहेको छ । काठमाडौँमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुनेछ भने सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुने परिषद्‌ले जनाएको छ । त्यस्तै काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।


Author

थप समाचार
x