खेलकुद

बागमतीका जिल्लामा खेलकुद विकास समितिमा सत्ता गठबन्धनको भागबन्‍डा, कुन जिल्लामा को ?

सरिता दाहाल |
चैत ५, २०७८ शनिबार ११:४१ बजे

परिषद् सदस्य भण्डारीको हातबाट नियुक्ति पत्र लिँदै खेविस मकवानपुर अध्यक्ष भेष खड्गी । तस्बिर : इकागज

मकवानपुर- बागमती प्रदेशको सत्तामा सहभागी दलहरूबीच भागबन्‍डा गरेर जिल्ला खेलकुद विकास समितिको अध्यक्षहरू नियुक्त गरिएको छ । प्रदेशको ११ वटा जिल्लामा खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरिएको हो ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा भेष खड्की नियुक्त भएका छन् । बागमती प्रदेश खेलकुद परिषद्‌को बैठकले खड्कीलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको परिषद्ले जनाएको छ ।


हेटौंडा–५ पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा एक कार्यक्रम आयोजना गरी परिषद्का सदस्य सचिव सुर्य भण्डारीले खड्कीलाई अध्यक्षको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य खड्गी यसअघि जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्षको थिए ।

बागमती प्रदेशको काठमाडौँ र भक्तपुर बाहेक ११ वटा जिल्लामा खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरिएको भण्डारीले बताए । बागमती प्रदेश खेलकुद विकास परिषद्ले सत्ता गठबन्धनमा रहेका दलहरूलाई भागबन्डाको आधारमा गरेको हो । जसअनुसार माओवादी केन्द्रका ६, कांग्रेस ३ र नेकपा समाजवादीबाट दुईजना नियुक्त भएका छन् ।

भण्डारीका अनुसार मकवानपुरमा भेष खड्गी, चितवनमा उत्तम गुरुङ, धादिङमा प्रतापसिं तामाङ, नुवाकोटमा बुद्धिमान तामाङ, रसुवामा दावा तामाङ, ललितपुरमा विनोद महर्जन, काभ्रेमा मानबहादुर लामा, सिन्धुपाल्चोकमा सुरेश राना, दोलखामा रामहरि शिवाकोटी, रामेछापमा सरोज गाहामगर र सिन्धुलीमा वीरबहादुर थिङ नियुक्त भएका छन् ।

काठमाडौँ र भक्तपुर जिल्लामा छिट्टै नियुक्त गरिने भण्डारीले जानकारी दिए । उनीहरूको कार्यकाल दुई वर्षको हुनेछ । जिल्ला कार्यसमिति पाँच सदस्यीय हुने व्यवस्था छ ।


Author

थप समाचार
x