खेलकुद

एनएसएल टोली धनगढीको प्रशिक्षकमा नाइजेरियन फुजा

इकागज |
चैत ५, २०७७ बिहीबार १४:५५ बजे

काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) टोली धनगढी एफसीले नाइजेरियाका तोपे अयोडेजी फुजालाई प्रशिक्षकमा नियुक्त गरेको छ । यसअघि नै विशाल राईलाई मार्की खेलाडीका रुपमा क्लबमा भित्र्याएको धनगढीले बिहीबार मनाङ मस्र्याङ्दीका पूर्व प्रशिक्षक फुजालाई प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो ।  

गो ड्रिमर्स प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको धनगढीतर्फ लागेका फुजाले मनाङलाई २०७५ को शहिद स्मारक ए डिभिजन लिग जिताएका थिए । सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा प्रशिक्षण करियर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिगमा मछिन्द्र क्लबको जिम्मेवारी पनि सम्हालेका थिए ।  


‘नेपाल सुपर लिगको पहिलो संस्करणमा नै महत्वपूर्ण जिम्मेवारी पाउँदा निक्कै खुशी र उत्साहित छु । उत्कृष्ट मार्की प्लेयर र टिमको सम्पर्कमा रहेका बिदेशी खेलाडीहरूले गर्दा मलाई धनगढी एफसीमा सामेल हुने आग्रह स्वीकार्न समय लागेन । क्लबको व्यवस्थापन र टिम मालिकको लक्ष्य देखेर म निक्कै प्रभावित भएको छु । र, हाम्रो लक्ष्य उपाधि जित्ने नै हो,’ उत्साहित फुजाले धनगढीको जिम्मेवारी पाएपछि भनेका छन् ।

फुजासँग सिमला योङ, मुम्बई युनाइटेढ, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसी लगायतका भारतीय टिमसँग काम गरेको अनुभव छ । गत वर्ष पनि मनाङलाई प्रशिक्षण दिएका फुजाले क्लबलाई ए डिभिजन लिगमा तेस्रो बनाएका थिए ।  फुजाको नियुक्तिको जानकारी दिन धनगढले जारी गरेको प्रेस विज्ञप्तिमा चाँडै नै विदेशी खेलाडी पनि अनुबन्ध गर्ने जानकारी पनि दिएको छ ।  
 


Author

थप समाचार
x