खेलकुद

राजर्षि जनक कपः आज साविक विजेता हेटाैडाको पिप्ले युवा क्लब र उपविजेता बागमती भिड्दै

इकागज |
चैत १०, २०७८ बिहीबार ९:५ बजे

मकवानपुर - राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको छैटौँ संस्करणमा साविक विजेता मकवानपुर हेटौंडाको पिप्ले युवा क्लब र आयोजक बागमती युवा क्लब सर्लाही आज बिहीबार सेमिफाइनलमा भिड्ने भएका छन् ।

साविक विजेता पिप्ले युवाले  राजर्षि जनक कपसहित १० लाख एक हजार हात पार्नको लागि आज अन्तिम भिडन्त रहेको आयोजक क्लबका अध्यक्ष किस्मत राज मैनालीले बताए ।

साविक विजेताको हैसियतले सिधै क्वाटरफाइनल खेलमा प्रवेश पाएको पिप्लेले आइतबार भएको खेलमा एडिभिजन टोली हिमालय शिर्पा क्लबमाथि ३–० गोल अन्तरको जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो ।


मंगलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरको संघर्षपूर्ण नतिजाका साथ बागमतीले पिप्लेसँगको भेट पक्का गरेको थियो । फेरि पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित सर्लाहीको मैदानमा उत्रिएको हेटौंडाको पिप्ले युवाले अब सेमिफाइनलमा गत सिजनको चिरपरिचित प्रतिद्वान्दी आयोजक बागमतीसंग भिड्नु पर्ने भएको हो ।

गत संस्करणको फाइनलिस्ट टोलीको खेल आज विहीबार दिउँसो ३ बजे हुनेछ । बागमती घरेलु मैदानको साथमा गत संस्करणको हार बदला लिने लक्ष्यसहित मैदानमा उत्रने छ । यता पिप्ले उही मैदान पुरानै नजिता सहज तरिकाले दोहोर्याउने लक्ष्यसहित मैदान उत्रनेछ ।

पराजित भएपछि प्रतियोगिताबाटै बाहिरिने भएकोले दुवै टोलीमाथि जित्नै पर्ने दबाव छ । उपाधि होडमा रहेको दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने बताइएको छ ।

प्रतियोगितामा दुवै टोली एडिभिजन टोलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको बागमती भन्दा तुलनात्मक रुपमा पिप्ले केही बलियो देखिन्छ । पहिलो खेलमा जित निकाल्न बागमतीलाई निकै संर्घष गर्नु परेको थियो भने पिप्लले शानदार नतिजा निकालेको थियो । तर, कुन टोली प्रतियोगिताको फाइनलमा स्थान बनाउछ, त्यो विहिबारको खेलले नै निर्धारण गर्नेछ ।

राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको अघिल्लो पाँचौ संस्करणमा हेटौंडाको पिप्ले युवका क्लब र आयोजक बागमती युवा क्बलबिच फाइनल खेल भएको थियो । २०७७ चैत ३० गते भएको फाइनल खेलमा आयोजक टोली बागमतीलाई घरेलु मैदानमा हराउँदै हेटौंडाको पिप्ले युवा क्लबले उपाधि चुमेको थियो ।

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको पिप्लेले उपाधि चुम्न फाइनल खेलमा निकै संर्घष गर्नु परेको थियो । फाइनलमा पिप्लेले निर्धारित समय, ट्राइब्रेकर हुँदै सडनडेथसम्मको संर्घष गुर्नु परेको थियो । सडनडेथमा ५–४ गालेको संर्घषपुर्ण जित निकाल्दै पहिलो सहभागितामै पिप्लेले उपाधि हात पारेको थियो ।

१२ टिमको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल चैत १३ गते फाइनल हुनेछ । प्रतियोगिताको विजेताले राजर्षि जनक कपसहित १० लाख एक हजार र उपविजेताले पाँच लाख पाँच सय, सिल्ड र मेडल प्राप्त गर्नेछन्।


Author

थप समाचार
x