खेलकुद

नेपाल थाइल्यान्डकाे क्लबसँग पनि पराजित

इकागज |
चैत १३, २०७८ आइतबार १८:२८ बजे

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय  मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग ३-१ अन्तरले पराजित भएको छ ।

आइतबार चोनबुरी स्टेडियममा घरेलु टोलीलाई जिताउन फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक एक गोल गरे । नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए।


थाइल्यान्ड भ्रमणको दोस्रो खेलमा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले कप्तान किरण कुमार लिम्बू सहित अनुभवी खेलाडीलाई विश्राम दिँदै नयाँलाई मौका दिएका थिए। जारी थाई लिगमा चोनबुरी पाचौं स्थानमा रहेको छ ।

खेलको २४औं मिनेटमा फान्थामितले गोल गर्दै चोनबुरीलाई अग्रता दिलाएका थिए ।६५ औं मिनेटमा रेनाटोले गोल गर्दै अग्रता २-० को बनाए ।

८३ औं मिनेटमा दर्शनले गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याए । खेलको इन्जुरी समयमा नाट्टापोङले गोल गर्दै घरेलु टोलीलाई ३-१ को जित दिलाए । नेपालले यस अघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल २-० ले पराजित भएको थियो । एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड पुगेको हो ।

एसियन कप छनोटको समूह  'ए' मा रहेको नेपालले  कुवेत, इन्डोनेसिया र जोर्डनसँग भिड्नेछ ।

 


Author

थप समाचार
x