खेलकुद

नेपालको लगातार दोस्रो जित

इकागज |
चैत १६, २०७८ बुधबार १५:२२ बजे

काठमाडौं – काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिवी क्रिकेट मैदानमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो ।  मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । 

लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको थियो । एक रनमात्र हुँदा पहिलो विकेट गुमाएको नेपालले चौथो ओभरमा दोस्रो विकेट गुमाउदा केवल २५ मात्र जोडेको थियो । कुशल भुर्तेल १ तथा रोहित पौडेल १२ रनमा आउट भएका थिए । 


तर आशिफ शेख र दिपेन्द्र सिंह ऐरीले नेपाललाई जिततर्फ डोर्याए । आशिफ र दिपेन्द्रले तेस्रो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । आशिफले ३८ बलमा ५७ रनको योगदान गर्दा ७ चौका र १ छक्का हिर्काए । दिपेन्द्र सिंह ऐरीले २१ रनमा आउट भए । 

डेब्यू गरेका दिलिप नाथले अविजित १५ रनको योगदान गरे । कुशल मल्ल २ रनमा अविजित रहे । मलेसियाका पवनदिप सिंहले २ तथा सयद अजिज तथा मुहमद अमिरले एक–एक वकेट लिए ।  यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८  विकेट गुमाएर १ सय १४ रन जोड्यो । 

मलेसियाका लागि जुबैदी जुल्कीफ्लेले १५ बलमा सर्वाधिक ३२ रन जोडे । उनले तीन चौका र दुई छक्का हिर्काए । कप्तान अहमद फैजले २४ रनको योगदान गरे ।  
नेपाली बलरले मलेसियाविरुद्ध उत्कृष्ट बलिङ गरे । नेपालका लागि करण केसी र कप्तान सन्दीप लामिछानेले दुई–दुई विकेट हात पारे । 

कुशल मल्ल, अविनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए । नेपालका ७ जना बलरले मलेसियाविरुद्ध बलिङ गरेका थिए । 

नेपालले यस अघि पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो । 
 


Author

थप समाचार
x