खेलकुद

दिपेन्द्रको अर्धशतकमा नेपालले पीएनजीलाई दियो २०४ रनको लक्ष्य

इकागज |
चैत १७, २०७८ बिहीबार १४:६ बजे

काठमाडौं – त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन जोड्यो । 

पीएनजीविरुद्द टी-ट्वान्टी​मा नेपालकाे सर्वाधिक स्काेर हाे ।


नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान गरे । दिपेन्द्रले ३३ बलको सामना गर्दा तीन चौका र चार छक्का हिर्काए । दिपेन्द्रको यो चौथों अर्धशतक हो । दिपेन्द्रले १८ औं ओभरमा नोरमन भानुआलाई लगातार तीन छक्का प्रहार गरेका थिए । 

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका आदिल अन्सारीले विष्फोटक ब्याटिङ गर्दै ११ बलमा ३१ रन जोडे । उनले एक चौका र तीन छक्का प्रहार गरे ।  

रोहित पौडेलले २३ बलमा ४१ रन जोडे । उनले चार चौका र दुई छक्का हिर्काए । आशिफ शेखले २९ बलमा ३८ रन बनाए । आशिफले चार चौका र एक छक्का प्रहार गरे । 

पीएनजीका लागि काबुआ मोरियाले तीन विकेट लिए । रिले हेकुरेले दुई तथा नोरमन भानुआ र नोसाइना पोकानाले एक–एक विकेट हात पारे । 
 


Author

थप समाचार
x