खेलकुद

मलेसियामाथि पीएनजीको शानदार जित

इकागज |
चैत १८, २०७८ शुक्रबार १५:४९ बजे

काठमाडौँ – मलेसियालाई पराजित गर्दै पपुवा न्यूगिनी (पीएनजी) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा पुग्ने सम्भावना जिवितै राखेको छ । त्रिवी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पीएनजीले मलेसियालाई ८ विकेटले पराजित गर्दै फाइनलको सम्भावना जिवितै राखेको हो । 

मलेसियाले दिएको १ सय ९७ रनको लक्ष्य पीएनजीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । पीएनजीको जितमा कप्तान असाद भालाले७४ तथा टोनी उराले ८६ रनको योगदान गरे । 


मलेसियाका मुहमद वफिक र स्याजरुल इद्रुसले एक–एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन जोड्यो ।  मलेसियाका लागि सयेद अजिजले ६४ र कप्तान अहमद फैजले ६३ रन जोडे । पीएनजीका कबुआ मोरियले सर्वाधिक ४ विकेट लिए । 

यस अघि लगातार तीन खेल जित्दै नेपाल फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले अन्तिम खेलमा शनिबार मलेसियाको सामना गर्नेछ र सोही खेलले फाइनल पुग्ने दोस्रो टिमको टुंगो लगाउनेछ । 
 


Author

थप समाचार
x