खेलकुद

गेन्टा र इकातेरिना बने एसिया कप ट्रायथलन च्याम्पियन

इकागज |
चैत १९, २०७८ शनिबार १५:५४ बजे

पोखरा- एसिया कप ट्रायथलन तथा दक्षिण एसिया च्याम्पियनसीपको उपाधि पुरुषतर्फ गेन्टा युचिदा र महिलातर्फ काजकिस्तानकी इकातेरिना सावालिनाले जितेकी छिन् ।

नेपाल ट्रायथलन संघको आयोजनामा शनिबार पोखरामा भएको प्रतियोगितामा गेन्टाले पौडी, साईक्लिङ र दौड ५३ मिनेट १४ सेकेण्डमा पुरा गरे । इकातेरिनाले सोही इभेण्ट एक घण्टा २ मिनेट २० सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनेको हुन् ।


च्याम्पियन बनेका गेन्टा र इकातेरियाले जनही नगद ६ सय ३० डलरका साथमा मेडल, ट्रफी, प्रमाण पत्र प्राप्त गरे । ट्रायथलनमा महिला र पुरुष दुवैका लागि ७ सय ५० मिटर पौडी, २० किमी साईक्लिङ र पाँच किमी दौड राखिएको थियो । साइक्लिङ र दौड गौरीघाट—शहीदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाईड हुदैं राष्ट्रबैंकचोक हुदैं गौरीघाटमा पुगेर सकिएको हो भने पौडी फेवातालमा भएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ जापानकै क्योतारो ओसिकावाले ५३ मिनेट २२ सकेण्ड र अष्ट्रियाका लियोन पावगरले ५३ मिनेट ३६ सेकेण्डमा निर्धारित दूरी पार गरी क्रमशः द्वितीय र तृतीय भए । महिलातर्फ द्वितीय हुन सफल जापानकी हिराकु फुकुओकाले एक घण्टा दुई मिनेट ५३ सेकेण्ड र काजाकिस्तानका नाजेन्दा बेकमागनले एक घण्टा चार मिनेट १४ सेकेण्डमा तोकिएको दूरी पार गरी तृतीय हुन सफल भइन ।

जापानको टिएनटि टिभि र टिभिएस अपाचेको प्रायोजन रहेको प्रतियोगितामा द्वितीय, तृतीय, चौथो र पाचौं हुनेले क्रमश ः ५ सय २५, ४ सय २०, ३ सय १५ र २ सय १० डलर प्राप्त गरे । सोही प्रतियोगितामा दक्षिण एशियाली ट्रायथलन च्याम्पियनसिपको उपाधि भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले प्राप्त गरेका छन् ।

आदर्शले ५९ मिनट १० सेकेन्डमा दुरी पुरा गर्दै उपाधि जितेका हुन् । यस्तै पहिलो संस्करणकी बिजेता प्रग्न्याले १ घन्टा ६ मिनट २२ सेकेन्डमा दुरी पुरा गर्दै उपाधि जितेकी हुन् । भारतीय खेलाडीहरुको दबदबा रहेको स्पर्धामा राहुल धनजी सिन्धेले ५९ मिनट ४२ सेकेन्डका साथ रजत र विश्वनाथ यादवले ५९ मिनट ४३ सेकेन्डका साथ कास्य पाए । यस्तै महिला तर्फ मानषी मोईतेले १ घन्टा ८ मिनट १८ सेकेन्डका साथ रजत र संजना जोशीले १ घन्टा १० मिनट ८ सेकेन्डका साथ कास्य पाईन् ।

नेपालतर्फ नेपाली सेनाका बसन्त थारु र एपिएफकी सोनी गुरुङले जित स्वर्ण हात पारे । थारुले १ घन्टा ३ मिनट २ सेकेन्डमा दुरी पुरा गरे भने सोनीले १ घन्टा ११ मिनट १७ सेकेन्डमा दुरी पुरा गरिन् । दोश्रो स्थानमा रहेका दिपेश चौधरीले १ घन्टा ५ मिनट ६ सेकेन्ड र तेश्रो स्थानमा रहेका मुकेश थारुले १ घन्टा ७ मिनट ५५ सेकेन्डमा दुरी पुरा गरे ।

यस्तै महिला तर्फ केशरी थापा मगरले १ घन्टा २१ मिनट २ सेकेन्डका साथ रजत र सस्तिका भण्डारीले १ घन्टा ३२ मिनट ११ सेकेन्डका साथ कास्य पाए । प्रतियोगितामा नेपाल सहित जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत र बङ्गलादेश गरी सात राष्ट्रका पुरुष तर्फ ४० र महिला तर्फ २३ गरी ६३ खेलाडीहरुले सहभागिता जनाएको नेपाल ट्रायथलन सङ्घका केन्द्रीय अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए । प्रतियोगिता अन्तर्गत दुआथलनको प्रतिष्पर्धा आइतबार हुने आयोजकले जनाएको छ ।

तस्विर : केशव पाठक


Author

थप समाचार
x