फाइनलमा कमलको अभाव महसुस हुनेछः कप्तान लामिछाने
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको फाइनल खेलमा कमल सिंह ऐरीको अभाव महसुस हुने बताएका छन् । नेपाल र पीएनजीबीचको खेल त्रिवी क्रिकेट मैदानमा सोमबार १२ः३० बजेबाट हुनेछ ।
फाइनल अघि सिरिजको ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा लामिछानेले पीएनजीविरुद्ध कमलको अभाव खड्किने बताए । मलेसियाविरुद्धको खेलका क्रममा कमल घाइते भएका थिए र उनको आईतबार शल्यक्रिया गरिएको थियो ।
‘कमल पछिल्लो समयमा टिमको एक उत्कृष्ट बलर हुन् । टिममा उनको अभाव महसुस हुनेछ । कमलको विकल्प खोज्नुपर्नेछ,’ लामिछानेले भने । लामिछानेले सोमपाल कामीलाई मलेसियाविरुद्धको खेलमा आराम दिइएको तथा उनी फाइनलका लागि उपलब्ध हुने समेत बताए ।
कप्तान लामिछानेले नेपालले सिरिज अन्तर्गतको सुरुवातका खेलमा खेलाडीलाई परिक्षण गरिएको समेत उल्लेख गरे । उनले टिममा आएका युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेको बताए ।
यता नेपाली टिमका प्रशिक्षक पुवुदु दासानायकेले पनि नेपाली टिममा रहेका युवा खेलाडी प्रतिभावान रहेको तथा उनीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेको बताए ।
‘उनीहरुले आफ्नो स्थान सुरक्षित गरिरहेका छन्,’ दासानायकेले थपे । प्रशिक्षक दासानायकेले नेपाल क्रिकेट संघ (क्यान) ले यस्ता प्रतियोगिताहरु आयोजना गरिरहनुपर्ने समेत बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया