खेलकुद

नेपाली क्रिकेट : दुई सिरिज, दुई सकारात्मक पक्ष

इकागज |
चैत २२, २०७८ मंगलबार १४:३७ बजे

काठमाडौँ – दुई हप्ताभित्रै नेपाली पुरुष क्रिकेट टिमले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्यो । नेपालले घरेलु मैदानमै पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध दुई खेलको एकदिवसीय सिरिज तथा पीएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेलेको थियो ।  पीएनजीविरुद्धको दुई खेलको एकदिवसीय सिरिजमा २–० ले पराजित भएको नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि भने जित्यो । 

दुबै सिरिजलाई हेर्ने हो भने नेपाली क्रिकेट टिमका लागि कैयौँ सकारात्मक पक्षहरु उजागर भए । नेपाली टिमका लागि युवा खेलाडीहरुको उत्साहजनक प्रदर्शन तथा घरेलु दर्शकको साथ मिल्याे। त्यसबाहेक नेपाली ब्याट्सम्यानले रन बनाउनु तथा बलरले विकेट लिनु महत्वपूर्ण रह्यो । 


ब्याटबाट रन बन्नुः 

दुबै सिरिजमा नेपाली ब्याट्सम्यानको ब्याटबाट रन निस्किए । एकदिवसीय सिरिजको पहिलो खेलमा रोहित पौडेलले शतक पुरा गरे । उनले १ सय ७ बल खेलेरै ७ चौका र ४ छक्काको मदतमा १ सय २६ रन जोडे । कुशल भुर्तेलले ३२ र आरिफ शेखले ३४ रन बनाए । 

दोस्रो खेलमा दिपेन्द्र सिंह ऐरीले शतक पुरा गरे । दिपेन्द्रले १ सय ४० बल खेल्दा ७ चौकाको मदतमा १ सय ५ रन जोडे । यता दोस्रो एकदिवसीय खेलमै देव खनालले ७२ रन जोडे । रोहित पौडेलले ३५ रन बनाए । भिम सार्कीले २६ तथा सन्दीप लामिछानेले २४ रनको योगदान गरे । 

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले खेलेका पा“चवटै खेल जितेर सिरिजको उपाधि जित्यो । सिरिजमा सर्वाधिक रन दिपेन्द्र सिंह ऐरीले बनाए । उनले २ सय ५५ रन जोड्दा एक शतक पनि पुरा गरे । 

आशिफ शेखले ५ खेलमा पनि १ सय ८५ जोडे । आशिफले मलेसियाविरुद्ध ५७ रन जोडे । रोहित कुमार पौडेलले १ सय ४० रन जोड्दा एक खेलमा अर्धशतक पुरा गरेका थिए । 

बलरले विकेट लिनुः 

नेपाली बलरहरुले पीएनजीविरुद्धको दुई एकदिवसीयमा खासै चल्न सकेनन् तर पनि सोमपाल कामीले दुई खेलमा ५ विकेट लिए । तर त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा भने ब्याट्सम्यानसँगै नेपाली बलरहरुले पनि उत्कृष्ट बलिङ प्रदर्शन गरे । ५ खेल खेलेका करण केसीले सिरिजकै सर्वाधिक १३ विकेट लिए । उनले पीएनजीविरुद्धको एकै खेलमा ह्याट्रिक पुरा गर्नुका साथै ५ विकेट हात पारेका थिए । 

कप्तान सन्दीप लामिछानेले पनि सिरिजमा ११ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहे । दिपेन्द्र सिंह ऐरीले पनि ७ विकेट चट्काए । 


Author

थप समाचार
x