खेलकुद

एनभिए भलिबल लिग वैशाख १८ देखि

इकागज |
चैत २२, २०७८ मंगलबार १८:० बजे

काठमाडौँ – छैठौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग २०७८ वैशाख १८ देखि २४ गतेसम्म संचालन हुने भएको छ । आयोजक नेपाल भलिबल संघका अनुसार प्रतियोगिताको पुरुषतर्फ ७ तथा महिलातर्फ ५ टिमले सहभागिता जनाउने छन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लब, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, गलकोट स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस क्लब रहेका छन् । 


महिलातर्फ त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड क्लब र बुटवलको एभरेष्ट भलिबल एकेडेमीको सहभागिता रहनेछ । प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाईने र अन्तिम दुईमा रहेका टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको विजेताले ६ लाख प्राप्त गर्दा उपविजेताले ३ लाख पाउनेछन् । त्यसैगरी तेस्रो हुनेले १ लाख ५० हजार र चौथोले ७५ हजार रकम प्राप्त गर्ने छन् । महिला तथा पुरुषतर्फका उत्कृष्ट खेलाडीले ३५ हजार र व्यक्तिगत विधा तर्फका खेलाडीहरुले जनही १५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित खर्च ५५ लाख रहेको आयोजकले जनाएको छ । 

यसैबीच प्रतियोगिताको लागि राष्ट्रिय वाणिज्य बैंकले च्याम्पियनशीपका लागि मुख्य प्रायोजकको रुपमा निरन्तरता दिएको छ । प्रायोजन सम्वन्धि सम्झौता पत्रमा नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्मा र वाणिज्य बैंकका तर्फबाट कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार वाणिज्य बैंकले १८ लाख प्रदान गर्नेछ । 
 


Author

थप समाचार
x