मछिन्द्र एएफसी कपको प्रारम्भिक छनोटबाटै बाहिरियो
काठमाडौं– नेपालको मछिन्द्र क्लब एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।
एएफसी कप २०२२ छनोटको पहिलो चरण प्लेअफमा श्रीलंकन टोली ब्लु स्टार क्लबसँग नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले हार व्यहारेको छ ।
ब्लु स्टारसँग मछिन्द्रले २–१ को गोल अन्तरले पराजय भोगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा ब्लु स्टारले पहिलो हाफमै दुई गोल गरेको हो । नेपालको मछिन्द्रले इन्ज्युरी समयमा एक गोल फर्कायो ।
पहिलो हाफको २४औं मिनेटमा मोहम्मद इसानले ब्लु स्टारलाई अग्रता दिलाए । मोहम्मद फजलले क्विक फ्रिकिक प्ले गर्दै इसानलाई बल दिएका थिए । जसमा इसालने कुनै गल्ती गरेनन् ।
२८औं मिनेटमा सेनल सन्देशले घरेलु टोलीविरुद्धको अग्रता दोब्बर पारे । मध्यभागबाट आएको बलमा सन्देशले रन्जित धिमाललाई बिट गर्दै १८ यार्ड बक्सको बायाँतर्फबाट सहजै जाली चुमाए ।
त्यसअघि नवौं मिनेटमा नुर्लान नोभ्रुजोभले गोलको सुनौलो मौका खेर फाले । मैदानको मध्यभागबाट विमल घर्तिमगरले निकालेको पासमा नुर्लानले वान अन वानमा गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।
१५औं मिनेटमा ब्लु स्टारले पाएको पेनाल्टी रोक्दै गोलकिपर विशाल श्रेष्ठले मछिन्द्रको ठूलो संकट टारे । डिफेन्डर ओमोलाजा करिमले सेनल सन्देशमाथि पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि ब्लु स्टारले पेनाल्टी पाएको थियो । ब्लु स्टारका जेरी ओमबेबेले दाहिनेतर्फ गरेको प्रहार विशालले पन्च गरिदिए । दोस्रो हाफको इन्जुरी समयमा सुजल श्रेष्ठले एक गोल फर्काएपनि त्यो मछिन्द्रका लागि पर्याप्त भएन ।
मछिन्द्रले पहिलोपटक छनोट खेलेको हो । अब ब्लु स्टारले दोस्रो चरणमा भारतीय टोली एटिके मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया