प्रधानमन्त्री कप र्याकिङ ब्याडमिन्टन चैत २८ बाट
काठमाडौँ – दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला र्याकिङ ब्याडमिन्टन प्रतियोगिता चैत २८ गतेदेखि संचालन हुने भएको छ । हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपी स्पोर्टस म्यानेजमेन्ट कम्पनी प्रालीले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता वैशाख १ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा संचालन हुनेछ ।
प्रतियोगितामा पुरुष तथा महिला एकल (खुल्ला), पुरुष युगल (खुल्ला), पुरुष र महिला यू–१५, यू–१९, मास्टर्स खुल्ला ४५ वर्षमाथि तथा मास्टर्स खुल्ला ५५ वर्षमाथि गरी जम्मा ९ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक सुवास श्रेष्ठले बताए । पुरुष र महिला एकलतर्फका विजेताले समान १ लाख १५ हजार प्राप्त गर्नेछन् ।
दोस्रो हुनेले ५५ हजार तथा सेमिफाइनलमा पराजित खेलाडीले समान १५ हजार प्राप्त पाउनेछन् । पुरुष युगलतर्फका विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार तथा सेमिफाइनलमा पराजित हुनेले १० हजार प्राप्त गर्नेछन् । मास्टर्स खुल्ला ४५ तथा ५५ वर्षमाथितर्फ पहिलो हुनेले समान ३५ हजार, दोस्रो हुनेले २० हजार तथा सेमिफाइनलमा पराजित हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यू–१९ तर्फ शीर्ष स्थान हात पार्नेले १५ हजार, उपविजेताले ७ हजार तथा सेमिफाइनलमा पराजय भोग्नेले ३ हजार ५ सय पाउदा यू–१५ तर्फ विजेताले १० हजार, दोस्रो हुनेले ५ हजार तथा सेमिफाइनलमा पराजित हुनेले ३ हजार पाउनेछन् । प्रतियोगिताका लागि २८ लाख खर्च हुने संयोजक श्रेष्ठले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया