नेपालले २०२४ मा टी–२० विश्वकप खेल्ने सम्भावना बलियो
काठमाडौ – नेपालले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने सम्भावना बलियो बनेको छ । आईसीसीको नयाँ नियम अनुसार २०२४ को विश्वकपमा २० टिमको सहभागिता रहनेछ । जसमध्ये १२ टिम स्वत: छनोट हुनेछन् ।
छनोट प्रक्रियाअन्तर्गत २०२२ को अक्टोबर र नोभेम्बारमा अष्ट्रेलियामा हुने आईसीसी टी–ट्वान्टी विश्वकपमा शीर्ष ८ स्थानमा रहने टिम २०२४ को विश्वकपमा स्वतः स्थान सुरक्षित गर्नेछन् ।
साथै २०२४ को विश्वकप आयोजना गर्ने देश वेस्ट इन्डिज र अमेरिकाले पनि लिग चरणका लागि स्वतः छनोट हुनेछन् । यसै वर्षको नोभेम्बर १४ तारिखसम्म आईसीसी टी–ट्वान्टी वरीयताको आधारमा उच्च स्थानमा हुने दुई टिमले स्वतः विश्वकपमा स्थान बनाउनेछन् ।
तर यदि वेस्ट इन्डिजले २०२२ को विश्वकपमा शीर्ष ८ मा परे वरीयताका आधारमा तीन टिमले विश्वकपमा स्थान पाउनेछन् । बाँकी ८ टिम भने क्षेत्रीय छनोटबाट आउनेछन् जसमा एसिया, अफ्रिका र युरोपबाट दुई–दुई टिम तथा अमेरिका र इस्ट एसिया प्यासिफिकबाट एक–एक टिम छनोट हुनेछन् ।
महिलाको टी–ट्वान्टी विश्वकपका लागि पनि सोही प्रक्रिया अनुसार टिम छनोट हुने आईसीसीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया