थ्री-नेसन्स कपः छ वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्कंदै
काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रियखेल नखेलेको तीन वर्ष भन्दा बढी भयो । दशरथ रंगशालामा त झन् नेपाली खेलाडीले २०७१ को चैत यता खेलेकै छैनन् । विश्वकप छनौट अन्तरगत भारतविरुद्ध भएको खेल नै नेपालले दशरथ रंगशालामा खेलेको अन्तिम खेल थियो ।
छ वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रियफुटबल फर्कदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको थ्री-नेसन्स कपले घरेलु दर्शकका लागि अन्तर्राष्ट्रियखेलहरू पस्कँदैछ । नेपालको निम्तोमा दक्षिण एसियाली टिम बंगलादेश र सेन्ट्रल एसियाको किर्गिस्तानको अण्डर २३ काठमाडौँ झरिसकेका छन् । दुबै विपक्षी नेपालका लागि अपरिचित होइनन् । बंगलादेशसँग नेपालले केही महिनाअघि मात्रै दुई मैत्रीपूर्ण खेल खेलेको थियो । किर्गिस्तानसँग भने नेपाल नभिडेको करिब दुई दशक भइसक्यो ।
कोभिड-१९ का कारण विश्वकप छनौट खेल स्थगित भएपछि एन्फाले थ्री-नेसन्स कप आयोजना गर्न लागेको हो । विश्वपकप छनौटकै लागि भनेर बालगोपाल महर्जनले नेपाली टिमलाई केही महिना यता प्रशिक्षण दिइरहेका छन् । लामो तयारी र लगभग सबै खेलाडी फिट रहेकाले प्रशिक्षक बालगोपाल उत्साहित देखिन्छन् ।
त्यसबाहेक उत्साहित हुने अर्को कारण भनेको घरेलु दर्शकका अगाडि खेल्न पाउने मौका पनि हो । सोेमबार आयोजित पत्रकार सम्मेलनमा बाल गोपालले प्रतियोगिता जित्ने दाबी त गरेनन् तर, बलियो खेल देखाउने बाचा भने गरे । अनि यस प्रतियोगिता विश्वकप छनौट खेलहरूका लागि तयारी रहेको पनि बताए ।
‘हामीले लामो तयारी गर्ने मौका पाएका छौँ । टिममा एक दुई जनालाई छाडेर सबै फिट छन् । त्यसकारण राम्रो नतिजा निकाल्न सकिन्छ भन्ने आशा छ,’ प्रशिक्षक बालगोपालले भने । उनै बालगोपालको नेतृत्वमा नेपाल बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न ढाका पुगेको थियो । जहाँ नेपालले एक खेल हार्यो भने अर्कोमा बराबरी खेल्यो । बालगोपाल भने त्यसबखत राम्रो नतिजा निस्कन नसक्नुको कारण मुख्य आठ खेलाडीको अनुपस्थितीलाई मान्छन् । ‘दशरथ रंगशालामा खेल्न पाउँदा हामी सबैजना खुशी छौँ । बंगलादेशसँग खेल्दाको भन्दा अहिलेको अवस्था फरक छ,’ उनले भने ।
नेपाली टिमका अनुभवी खेलाडी रोहित चन्दले दुबै विपक्षी टिम बलियो भए पनि लामो तयारी गरेको र घरेलु दर्शकका अगाडि खेल्ने हुँदा आफूहरू राम्रो नतिजा ल्याउनेमा आशावादी रहेको बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार बंगलादेश र किर्गिस्तान आमनेसमाने हुनेछन् । नेपालले आफ्नो पहिलो खेलमा चैत १२ गते किर्गिस्तानको सामना गर्नेछ भने त्यसको दुई दिनपछि बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिन समाप्त हुँदा शीर्ष दुईमा रहने टिम उपाधिका लागि भिड्नेछन् ।
उता पाहुना टोली बंगलादेशका प्रशिक्षक जेमी डेले नेपालसँगको पछिल्लो नतिजाले अबको खेलमा फरक नपार्ने बताए । ‘नेपाल ढाकामा प्रस्तुत भएभन्दा बलियो तरिकाले प्रस्तुत हुनेछ,’ बंगलादेशको प्रशिक्षकमा नियुक्त हुनुभन्दा पहिले इंगल्यान्डका तेस्रो र चौथौँ श्रेणीका क्लब सम्हालेका डेले भने । उनले यसपटक केही नयाँ खेलाडीलाई पनि मौका दिने योजना रहेको बताए ।
किर्गिस्तानका प्रशिक्षक झोल्डोशोभ नुरबेकले आफूहरू राम्रोसँग तयारी नगरी नेपाल आएको बताए । आयोजक नेपाल र बंगलादेश दुबैको पछिल्ला खेलहरू हेरेको र त्यसै अनुसार योजना बनाएको उनको भनाई थियो । ‘यो टिममा केही राष्ट्रिय खेलाडी पनि छन् । उनीहरू लगायत सबैका लागि यो प्रतियोगिता सिक्नका लागि राम्रो अवसर हो । पर्याप्त तयारी नभएकाले नतिजाका बारेमा अहिल्यै केही भन्न सकिने अवस्था छैन,’ नुरबेकले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया