के नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल हुन लागेको हो ? यस्तो भन्छन् मन्त्री
काठमाडौँ – पछिल्लो केही घण्टाअघि देखि नेपाली फुटबल वृत्तमा एउटा चर्चा छ–नेपाली राष्ट्रिय टोली र अर्जेन्टिनी राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । त्यो पनि नेपालमै ।
यस्तो भयो भने नेपाली फुटबलप्रेमीका लागि एउटा स्वर्णिम अवसर हुनेछ । किनकि अर्जेन्टिना मेस्सीको देश हो, मेस्सी विश्व फुटबलका महान खेलाडी हुन् । र, नेपालमा मेस्सीका फ्यान धेरै नै छन् ।
यस्तो हुँदा आफ्नो फुटबल आइडलले आफ्नै आँखा अगाडी खेलेको या गोल गरेको हेर्न नेपालीहरुले अवसर पाउनेछन् ।
यो चर्चा त्यस्सै चलेको हैन ।युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र नेपालका लागि अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोबीबीच भेटवार्ता भएपछि नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने चर्चा चुलिएको हो ।
सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा गहतराज र गोबीबीच शिष्टाचार भेटवार्ता भएको थियो ।
भेटवार्ताकै क्रममा राजदूत गोबीसँग आगामी दिनमा नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल आयोजनाका लागि वातावरण बनाउने विषयमा छलफल भएको मन्त्री गहतराजले इकागज बताए । उनले दुई देशबीचको राष्ट्रिय टिमबारे फुटबल खेल हुने टुंगो भने भई नसकेको बताए ।
‘नेपाल र अर्जेन्टिनाबीचको सम्बन्धलाई जनस्तरमा लैजाने विषयमा छलफल भएको थियो । यसको सबैभन्दा ठूलो आधार खेलकुद हो । त्यसैले आगामी दिनमा नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल आयोजनाका लागि वातावरण बनाउने विषयमा छलफल भएको हो,’ मन्त्री गहतराजले बताए ।
उनले भविष्यमा अर्जेन्टिनाका खेलाडी नेपाल ल्याउने तथा नेपालका खेलाडीलाई अर्जेन्टिना लैजाने वातावरण बनाउने विषयमा समेत छलफल भएको जनाए ।
‘अर्जेन्टिना मेस्सीको देश हो र नेपालमा अर्जेन्टीनाका समर्थक धेरै छन् । त्यसैले दुई देशबीचको सम्बन्धलाई जनस्तरमा लैजाने विषयमा छलफल भएको थियो,’ उनले थपे ।
मन्त्री गहतराजले शिष्टाचार भेटका क्रममा दुई देशको सम्बन्धलाई बलियो बनाउने अन्य विषयमा समेत छलफल भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया