हेम्जा युनाइटेड बन्यो ‘कास्की लिग च्याम्पियन’
पोखरा – अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा भएको सावित्री निर्माण सेवा कास्की लिगकम नकआउट फुटबल प्रतियोगितामा हेम्जा युनाईटेड क्लब च्याम्पियन बनेको छ ।
पोखरा रंगशालामा बिहिबार भएको र्फाइनल खेलमा शितल ज्योती युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाईटेड क्लब च्याम्पियन बनेको हो । निर्धारित समयमा ४–४ गोल बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयको खेलमा शितलज्योतीको तर्फबाट शहिल गुरुङले २, लिले गुरुङ र प्रतिक गुरुङले १/१ गोलको योगदान दिए । हेम्जा युनाईटेड क्लबका लागि विशाल बिक, सागर कुँवर र मनिष थापा मगरले समान १ गोल गरेका थिए । भने शितलज्योतीको तर्फबाट १ आत्मघाती गोल भएको थियो ।
उपाधि जितेको युनाईटेड क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्राप्त गर्यो । उपविजेता बनेको शितलज्योतीले नगद ५० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा हेम्जा युनाईटेडका सन्तोष विक सर्वाेत्कृष्ट खेलाडी घोषित भएको खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए । हेम्जाकै सुरेश विक उत्कृष्ट गोलरक्षक, शितलज्योतीका सरोज विक उत्कृष्ट डिफेण्डर, सोही क्लबकै लिले गुरुङ उत्कृष्ट मिडफिल्डर र शितलज्योतीकै प्रतिक गुरुङ उत्कृष्ट फरवार्डका रुपमा ट्रफीद्वारा पुरस्कृत भए ।
एन्फा कास्कीमा दर्ता रहेका जिल्लाभरका कुल २२ टिमको सहभागिता रहेको थियो । उक्त लिग गत चैत २१ गतेदेखि पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान र पोखरा रङ्गशालाको वैकल्पिक खेल मैदानमा सञ्चालन गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया