खेलकुद

भारतको ओपनिङ शिखर धवन र रोहित शर्माले गर्ने

इकागज |
चैत १०, २०७७ मंगलबार ६:५१ बजे

काठमाडौँ : भारत र इंगल्यान्ड मंगलबार पहिलो एक दिवसीय क्रिकेट खेल्दैछन् । पुनेमा हुने उक्त खेलमा भारतका तर्फबाट शिखर धवन र रोहित शर्माले ओपनिङ गर्ने भएका छन् । तीन ओडीआई सम्मिलित श्रृङ्खलाको उद्घाटन खेलका लागि भारतीय कप्तान विराट कोहलीले यस्तो निर्णय लिएका हुन् । 

इंगल्यान्डसँग यसअघि खेलिएका पाँच टि-ट्वान्टीमध्ये शर्मा दुई खेलमा अनुपस्थित थिए । ती सहित पाँच खेलमा भारतले चार फरक ओपनिङ साझेदार प्रयोग गरेको थियो । पहिलो खेलमा चार रन बनाएका धवनलाई त्यसपछिका खेलमा प्रयोग गरिएन । सो टि-ट्वान्टी श्रृङ्खला भारतले ३-२ ले जितेको थियो ।


उता अर्का ओपनर केएल राहुलले पनि सन्तोषजनक लय देखाउन सकेनन् । राहुलले चार खेलमा १५ रन मात्रै बनाउन सके । डेब्यु खेलमा अर्धशतक प्रहार गरेका इशान किशनले भने ओडीआई खेल्ने छैनन् ।

‘शिखर र रोहतिले ओपनिङ गर्नेछन् । ओडीआईमा उनीहरूको जोडीले राम्रो गर्छ भन्नेमा दुई मत छैन । यस अघि पनि शिखर र रोहितले भारतका लागि बलियो ओपनिङ गरेकाले फेरि पनि उनीहरुको उपयोग गर्न हामीलाई डर छैन,’ सोमबार भर्चुअल पत्रकार सम्मलेनमा कोहलीले भने ।

ओपनिङमा बाहेक भारतीय समर्थकको नजर अर्का ब्याट्सम्यान सूर्यकुमार यादवमाथि पनि छ । टि-ट्वान्टीमा इंगल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका यादवले पहिलो पटक ओडीआईमा मौका पाउन लागेका हुन् । 
 


Author

थप समाचार
x