बी डिभिजन चुनाव सम्पन्न, वीरगन्ज, सामाजिक र झम्सिखेल बाहिर
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने भनिएको केन्द्रीय निर्वाचनका लागि ‘बी’ डिभिजनका मताधिकार प्राप्त ११ क्लबको चयन भएको छ ।
सातदोबाटोमा शुक्रबार भएको ‘बी’ डिभिजन क्लबहरूको भेलाले १४ मध्येबाट एन्फाको केन्द्रीय कार्यसमिति चुनावका लागि मताधिकार प्राप्त ११ क्लब चयन गरेका हुन्। मतदानमार्फत ११ क्लब चयन गर्दा वीरगञ्ज युनाइटेड, सामाजिक यूथ क्लब र झम्सिखेल यूथ क्लब बाहिरिए ।
श्री भगवती, रानीपोखरी कर्नर टिम आरसिटी, मधयपुर यूथ एसोसिएसन, टुसाल युवा, नयाँ बस्ती, खुमलटार युवा क्लब, बाँसबारी, चर्च ब्वाइज युनाइटेड, सरस्वती, श्री कुमारी र ब्याइज युनियन क्लबले मताधिकार प्राप्त गरेका छन् ।
आगामी चार वर्षे कार्यकालका लागि असार ६ गते हुन लागेको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले नेतृत्वका लागि प्रत्याशी छन् । शेर्पा र नेम्वाङ दुवै प्यानलसहित नै चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।
‘बी’ डिभिजन क्लबमध्येबाट दुवै पक्षका पाँच/पाँच क्लबले मताधिकार पाएको दाबी गरिएको छ । चर्च ब्वाइज, बाँसबारी, टोखा, खुमलटार र आरसिटी नेम्वाङ पक्षका क्लब हुन् भने टुसाल, सरस्वती, मध्यपुर, ब्वाइज युनियन र श्री कुमारी शेर्पा पक्षका क्लब हुन् । नयाँ बस्ती भने तटस्थ रहेको बताइएको छ ।
शुक्रबारै दिउँसो चाँढोगरी भएको ‘सी’ डिभिजन क्लबको चुनावमा नेम्वाङ पक्षले बाजी मारेको थियो । ‘सी’ डिभिजनका १४ मध्ये ९ क्लबले मताधिकार पाउनेमा नेम्वाङ पक्षका आठ र शेर्पा पक्षको एक क्लब सफल भएको दाबी गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया