नेपाली फुटबलमा अलमुताइरीको रबैया कहिलेसम्म ?
काठमाडौं– राष्ट्रिय टोलीको खेल वा प्रशिक्षणमा प्रशिक्षक सर्वेसर्वा हुन् । प्रशिक्षकको निर्देशनमा खेलाडीको खेल्ने शैली बन्छ । तर, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अबदुल्लाह अलमुताइरी खेल वा प्रशिक्षणमा मात्र होइन अन्य विषयमा पनि हावी हुने गरेका छन् ।
शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा पनि उनीनै बढी सक्रिए भए । त्यति मात्र होइन पत्रकार सम्मेलनअघि नै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फा निर्वाचन, नेपाल सुपर लिग (एनएसएल) र क्लबका प्रशिक्षकका बारेमा प्रश्न नगर्न एक खालको चेतावनी नै दिए । जुन उनको दायरा भन्दा बाहिरको विषय थियो ।
दुई चरणमा पत्रकार सम्मेलनमा खेलाडी उपस्थित गराएका अलमुताइरी एउटा सत्रका लागि १० मिनेट दिएका थिए । पहिलो सत्रमा अधिकांश प्रश्नको जवाफ खेलाडी सुजल श्रेष्ठले दिएपछि बाँकी ३ खेलाडीलाई सोध्न नपाउँदै अलमुताइरीले समय सकिएको भन्दै खेलाडीलाई बाहिर पठाए । उनको त्यो प्रस्तुतिले उपस्थित पत्रकार रणभुल्ल बने ।
सबै पेशाका आ–आफ्नो दायित्व र मर्यादा हुन्छन् । सार्वजनिक चासोको विषयमा प्रश्न गर्ने अधिकार पत्रकारसँग रहन्छ । यद्यपि आचारसंहिताको ख्याल उनीहरुले पनि गर्नु पर्छ नै । तर, पत्रकार सम्मेलन सुरु हुनुअघि नै निश्चित विषयमा प्रश्न गर्न रोक लगाउने वा नगर्न भन्ने घटना कमै सुनिन्छन् । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरीले शनिबार एएफसी एसियन कप तयारीमा रहेका खेलाडीसँग अन्र्तवार्ता अघि पत्रकारलाई यो सोध्नु र नसोध्नु भन्दै सिकाउँदा उनको हावी नेपाली सञ्चार माध्ययमा छर्लङ्ग भएको हो ।
त्यति मात्र होइन पत्रकार सम्मेलनअघि नै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न भनेका थिए । जब की पत्रकार सम्मेलन डेढ महिनापछि हुने एएफसी एसियन कप छनोट खेलको तयारीको विषयमा रहेको थियो । पहिलो दिन नेपाली टोली आसन्न एएफसी एसियन कपमा छनोट हुन सक्दैन भन्दै अभिव्यक्ति दिएका उनले दोस्रो दिन खेलाडीसँगको अन्र्तवार्ता अघि अर्को अपाच्य ब्यवहार देखाएका हुन् ।
१० मिनेट तोकिए पनि एउटै खेलाडीलाई धेरै प्रश्न सोधिएको भन्दै बीचबाट खेलाडीलाई फोरमबाट उठाउँदा अलमुताइरीको अहंमता नांगिएको हो । सँगै फोरममा उपस्थित भएका खेलाडी प्रशिक्षकको हाउभाउ देखेर आफै आश्चर्यमा पनि परेका थिए । खेलाडीका लागि समयको पावन्दी लगाएका अलमुताइरीले यसअघि अघिल्लो दिन आफ्नो पत्रकार सम्मेलनमा भने समय सीमा थिएन । आधा घण्टा भन्दा बढी समय पत्रकार सम्मेलनमा बिताएका अलमुताइरीले आफ्नो दायरा भन्दा बाहिर गएर फुटबलको सर्वोच्च निकायको कार्यशैलीमा पनि प्रश्न गरेका थिए ।
उनी कहिले अनुशासन त कहिले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीसँग झमेलामा फस्ने गरेका छन् । पटकपटक विभिन्न कारणले विवादमा पर्दै आएका छन भने सञ्चार माध्यमको टिका टिप्पणीलाई खरो रुपमा आलोचना गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया